शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

गणतन्त्रका ‘हिप्पोपोटामस’हरू हो, लौ पढ ! 

दैनिक नेपाल २०७६ भदौ १९ गते १३:०२

-विनोद ढकाल

जम्मा १५ दिनको घटनाक्रमलाई विश्लेषण गरी यो आलेखको मूल विषयलाई उठाउने कोशीश गरेको छु । यसमा पनि धेरैको चित्त फाट्न सक्छ, पित्त हल्लिन सक्छ । क्रिया र प्रतिक्रियाको मन्थनले अनेक विकार पनि निस्कन सक्ला, शव्दमा । त्यसलाई हेक्का राखिने छैन ।

यहि दुई साताको दौरानमा देखिएका दुई चित्रलाई विश्लेषण गरौं ।

कानुनसम्मत अनुसन्धानको घेरामा रहेर निर्दोष सावित नभई बाहिर निस्किएको एउटा सञ्चारकर्मीको धन्यवाद सभा । जहाँ सहभागी भन्दै थिए– अदालतले निर्दोष सावित गरिदियो ! यो अन्धाधुन्द भनाई र भक्तिभाव गणतन्त्रले आफूलाई प्रमाणित गर्न नसकेको बिम्ब थियो । थिए होला– सरकारविरोधी, व्यवस्थाविरोधी अथवा केही प्रायोजित भिड पनि । त्यहाँ को के थियो भनेर टाउको गन्न सकिँदैन थियो, प्रहरीको लाठी टाउकोमा खाएकाको पक्षधरता पनि केलाउन सकिँदैन थियो । ढुंगा बोकेर प्रहरीमाथि जाइलाग्नको अनुहार पहिल्याउन सकिन्थ्यो होला, उसको विचार, उभित्र रहेको उकुसमुकुस र राज्यप्रतिको तुषलाई खुट्याउन नसकिने नै थियो ।

अर्को, बसन्तुपर दरबार क्षेत्रमा पहिलेको दरबारले दुरुत्साहीत गरेका पात्रको लठ्ठ हिँडाई, बसाई र दौरानको दृश्य । तै पनि मानिस जय–जयकार गरिरहेको छ । नारा लगाइरहेको छ । भेला भएकै छ । भेंडो पनि बनेकै छ । किन ?

यो चार महिनामा एक जना मित्रको समस्या समाधानका निम्ति प्रशासनयन्त्र पनि धाइयो । एउटा आम नागरिकले उपल्लो तह वा शक्ति केन्द्रमा नभनी केही काम हुने अवस्था नै छैन । शक्ति केन्द्रमा दबाब दिएका कारण उनको समस्या समाधानको पहल पनि भइरहेको छ । त्यसमा लगाइएको प्रभाव भनेको हाम्रो शव्द र आवाज हो ।

प्रशासनयन्त्र किन यस्तो भयो ? अदालत कस्तो भयो ? एउटा विद्यालयमा विद्यार्थी भर्ना गर्नुपर्दा पनि नेता र शक्ति केन्द्रमा सिफारिस गरिदिनै पर्ने नियतीको शिकार किन बन्यो मुलुक ? अब्बलतालाई डस्टबिनमा हुत्याएर प्रभाव र पहुँच मात्रै योग्यताका न्युनतम आधार किन बने ?

कुलमान घिसिङहरू यहि गणतन्त्रका त्यस्ता कर्मचारी हुन् जसले जनताको दैनिक जीवनसँग जोडिएको सानो समस्याको समाधान मात्र गरिँदिँदा आज ‘भगवान’ मान्न तयार छन्, नागरिकहरू

यसको कारण पहिल्याउन कठिन छैन । हो, यसको कारण हो गणतन्त्रका नाममा भ्रष्टाचारको आहालमा बसेका ‘हिप्पोपोटामस’हरू । यो वा ऊ दलका कुरा हुँदैनन् । ०६३ पछि सत्ता, प्रतिपक्ष अथवा जे जे नाममा जो जसले राज्यलाई कंगाल बनाउने काम गरेका छन्, ति सबै यो अवस्थाका कारक हुन् । कम्युनिस्ट, कांग्रेस, राप्रपा, राजपा वा समाजवादीको कुरा होइन । कुरा यी सबैमा रहेका नेता नामका व्यक्तिको समान आचरणको हो । लोकतान्त्रिक गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउने व्यवस्थाका धमिराहरूकै हो । ति धमिराको गुणगाण गाउने पक्ष र विपक्षमा उभिने कथित ‘काँठे’ कार्यकर्ताको सपोर्टको हो । व्यक्तिका ठाउँमा पार्टी र हावा चलेका भरमा मत हाल्ने स्वनामधारी जनताको पनि हो । मः मः गरौं ।

सडकबाट सत्ताको विरोध गर्दैगर्दा एनसेल प्रकरणमा चुप्प लागेर बसेको छ– प्रतिपक्ष । विश्वविद्यालयदेखि अनेक प्रकरणमा सडक तताउने प्रतिपक्ष प्रधानमन्त्रीलाई विश्राम लिऊ भन्छ, एनसेलले देशलाई कर तिर्नु पर्दैन भन्ने विषयमा चुइँक्क गर्दैन । न उसको पार्टीको बैठकमा एजेन्डा बन्छ । यहाँ को कांग्रेस, को कम्युनिस्ट अनि को राजावादी कसलाई के भन्ने ? सबैलाई एकै डालोमा राखेर धमिरा कराएको शैलीमा भन्नुपर्छ– यी गणतन्त्रभित्र बाँधिएका हिप्पोपोटामसहरू नै हुन् । जो सहिनसक्नु गन्हाइसकेका छन् ।

हिप्पोपोटामस अर्थात् जलगैंडा । गणतन्त्र नेपालका जलगैंडाहरू भ्रष्टाचारको आहालमा बसेका छन्, तिनको गन्धले पुरै गणतन्त्र नै गन्हाउन थालेको छ । यसकारण यसको विकल्पको निकाशका लागि अनेक कोणबाट अनेक छिद्रबाट प्रकारान्तरका आवाज उठिरहेका छन् । प्रणालीभित्रको जिम्मामा रहेका एकाध व्यक्तिमाथि विश्वास हुने तर प्रक्रियामाथि विश्वास नै नहुने अवस्था आउनुको कारण यहि होइन त । जसरी विद्युत प्राधिकरणमा काम भयो, त्यसरी अर्को विभागमा काम भईदिएको भए वा सरकारका सबै अंगमा सोही हिसाबले काम भइदिएको भए प्रणाली कमजोर हुने थियो र ? राजनीतिकै वाह वाही हुने थिएन र ?

नागरिक प्रश्न गर्न जान्दछन् । उनलाई उत्तर चाहिन्छ । संविधानको खोस्टामा लेखिएको कुनै ‘वाद’को विवादमा हैन, व्यवाहारमा विश्वास गर्दछ आम मानिस । आम मानिस कुनै ‘वाद’को पछि लाग्दैनन् । त्यसको व्याख्याको पछि पनि लाग्दैनन् । लाग्छन् त केबल सुधारोन्मुख मुलुकको परिदृश्यको व्यवाहारको पक्षमा । न्यायमा । भ्रष्टाचारमुक्त प्रत्येक प्रशासनयन्त्रको कार्य सम्पादनमा । हैन भने कुलमान घिसिङहरू यहि गणतन्त्रका त्यस्ता कर्मचारी हुन् जसले जनताको दैनिक जीवनसँग जोडिएको सानो समस्याको समाधान मात्र गरिँदिँदा आज ‘भगवान’ मान्न तयार छन्, नागरिकहरू । उनीहरूले घिसिङको काममा न साम्यवाद देखेका छन् न समाजवाद कोट्याएका छन् । त्यहाँ आफूले भोगेका दैनिक जीवनको कष्टप्रद समयको समाधान पाएका छन् । अहिलेको समाजको मनोविज्ञान यहि नै हो, राजनीतिक सैद्धान्तिक पाटोलाई कसैले केलाएको छैन । त्यसैले गणतन्त्रमा भ्रष्टाचारको आहालमा बसेका जलगैंडाहरूलाई अपिल छ– राजनीतिक विचारको आधारमा ‘मूतको न्यानो’ लामो समयसम्म टिक्ने छैन । कमिशनखोरी, ठेकेदार र कालोधन कुम्ल्याउनेहरू हो आत्माआलोचना गरी गल्ती सच्याउने, राज्य जोगाउने कामतिर नलागे भविष्य बलियो हुनेछैन ।

भ्रष्टाचारको अत्तरमा बास्ना आउँदैन, गन्हाउँछ । त्यो गन्धबाट मुक्तिको मार्ग समात्नै पर्छ । अन्यथा अर्को विकल्प छैन, ‘वाद’ भनेको गाँस, बास, कपास, शिक्षा, रोजगारी र सुशासनको बादमा आउँछ भन्ने हेक्का होस्

केलाउँदै जाँदा हरेक क्षेत्र नमिठोसँग केलाउन सकिने अवस्था छ । भ्रष्टाचारमुक्त समाजको परिकल्पनाको कुरा के भयो र ? एकाध बाहेक सरकारी, गैर सरकारी वा संस्थान सबै ठाउँ पहुँचका आधारमा प्रक्रियागत हिसाबले अघि बढ्छन् । जसका कारण भुई मान्छे जहिल्यै समस्याको रुग्णतामा पिल्सिरहेको हुन्छ । पैसा बिना कुनै प्रक्रिया अघि बढ्नेवाला छैन । प्रक्रिया बढ्यो, नतिजा निकाल्न पैसा चाहिन्छ । यहि, हो गणतन्त्रले दिएको उपहार । गाउँका लक्का जवान मुलुकमा श्रम खन्याउन नपाउँदा मरुभुमीलाई मलिलो बनाइरहेको छ । उसको पसिनाले भिजेका रकम यहाँ रगतका नाममा अवैधानिक हिसाबले चुस्ने क्रम रोकिएको छैन । १० बर्षमा मुलुकलाई कायाकल्प गर्छु भन्नेहरूको राजनीतिक पार्टीको कायाकल्प भयो, व्यक्तिको जीवनमा आर्थिक कायाकल्प भयो । गणतन्त्रले दिएको परिणाम वैदेशिक रोजगार विभागको अभिलेखालयमा छ । ०६३ अघि कति जान्थे परदेश, त्यसपछिको रेट कसरी बढेको छ ? तथ्यांक स्पष्ट देखिँदैन र ?

भविष्यको लेखाजोखा गरी वर्तमानलाई सम्हाल्नुपर्छ भनी बन्दुक बोक्नेहरू कोही मारिए, कोही कहाँ फालिए । बोकाउनेहरूको जीवनमा आएको परिवर्तन भनेको देशको परिवर्तन हैन, त्यो बन्दुक बोक्नेहरूले अहिले मुस्लिम देशमा साबेल बोकिरहेको छ, साहुको ऋण थाप्लामा बोकिरहेको छ । परिवारको जिम्मेवारी मुटुमा बोकेको छ । तातो देशमा पीडाका भवसागर बोकेर परिवारलाई न्यानो दिने कर्म पनि बोकिरहेको छ । यसलाई गणतन्त्रवादीले हेक्का राख्नु पर्छ कि पर्दैन ?

लोकतन्त्रको माला जपेर बस्नेहरू सत्ता वारि अथवा पारी रहे पनि उग्राएर बसीरहेका छन् । मानिसको मनोविज्ञान भत्काउनका निम्ति सपनाका ठूला ठूला आकार देखाउने कुचेष्टा अहिले पनि अन्त्य भएको छैन । यसर्थ, नागरिक आवेगलाई बुझ्ने कोशीश गर । धैर्यताको पनि सीमा हुन्छ । एक सय ३ बर्षमा राणालाई धैर्य गरेको जनताले ३५ बर्ष पञ्चायत, २० बर्ष प्रजातन्त्र, १५ महिना फेरि राजतन्त्र पनि धैर्य गरेकै थियो । लोकतान्त्रिक गणतन्त्रको धैर्यता पनि १४ बर्ष गरिसक्यो । अझ सुधारका संकेतसम्म देखिएनन् भने असन्तुष्टिका धाँजाहरू अनेक कोणबाट निस्कन थालेकै छन्, तिनले गर्ने बिगार भनेको व्यवस्था नै हुनेछ । यसर्थ, यसलाई जोगाउनका निम्ति भ्रष्टाचारको आहालबाट निस्कनै पर्छ, भ्रष्टाचारको अत्तरमा बास्ना आउँदैन, गन्हाउँछ । त्यो गन्धबाट मुक्तिको मार्ग समात्नै पर्छ । अन्यथा अर्को विकल्प छैन, ‘वाद’ भनेको गाँस, बास, कपास, शिक्षा, रोजगारी र सुशासनको बादमा आउँछ भन्ने हेक्का होस् ।

प्रतिक्रिया
सम्बन्धित