शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

नकारात्मकताको लोकप्रियता कहिलेसम्म ?

निर्मल भट्टराई २०७६ भदौ १२ गते ७:४५

लेखक

निर्मल भट्टराई

नेपोलियन बोर्नापाटले युरोपका अधिकांश भाग जितेर फ्रान्स फर्केपछि उनको स्वागतमा पेरिसमा झण्डै एक लाख मानिस भेला भए । मञ्चमा बसिरहेका बोर्नापाटलाई पछाडिबाट उनको अंगरक्षकले हर्षले गदगद हुदै कानेखुसी गर्यो– ‘हजुर कति लोकप्रिय हुनुहुन्छ ?’

कसरी ? –बोर्नापाटले प्रश्न गरे ।

हजुरलाई हेर्न यहाँ एकलाखभन्दा बढी मानिस आएका छन्– अंगरक्षकले भन्यो ।

बोर्नापाटले रिसाउदै भने– भाग उल्लु मलाई कसैले मारेर यही चोकमा झुण्ड्यायो भने दश लाख मानिस हेर्न आउछन् !

प्रशङ्ग नेपालका केही स्वनामधन्य ‘लोकप्रिय’हरुको हो ।

तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएपछि राजगद्दीमा बसेका ज्ञानेन्द्र रातारात लोकप्रिय बने ।

०४६ सालको परिवर्तनकारी शक्ति नेका र एमालेसँग असन्तुष्टहरुलाई समेत बटुलेर उनको रजगज शुरु भयो । २०१७ सालमा महेन्द्रले अपनाएको ‘कू’को शैली अपनाएका ज्ञानेन्द्र आफ्नो लोकप्रियता हेर्न देश दौडाहामा निस्किए ।

उनको पूर्वको भ्रमणका क्रममा विराटनगरको रंगशाला भरियो । पश्चिममा नेपालगञ्ज बेहुली सिंगारेझैं सिंगारियो । सबैतिर उनको हाई हाई भयो । त्यतिबेला यस्तो माहौल बनाउन खोजियो मानौं राजा बाहेक अरु कुनै शक्तिको अस्तित्व छैन ।

परिणाम के भयो ?

डेढ बर्ष पनि नबित्दै अढाई शताब्दीदेखि जरा गाडेर बसेको राजतन्त्र सदाका लागि उखेलियो । देश लोकतान्त्रिक गणतन्त्रमा बदलियो ।

पहिलो संविधानसभामा २३९ सीट संख्या जितेर सबभन्दा ठूलो पार्टी तत्कालीन एनेकपा(माओवादी)का नेता डा. बाबुराम भट्टराई एकाएक लोकप्रिय बन्न थाले । लगभग सबै विद्युतीय सञ्चार माध्यम, पत्रपत्रिका, सामाजिक सञ्जालमा उनको लोकप्रियताको लेखाजोखा हुन थाल्यो ।

फेसबुक र ट्वीटर त उनकै लागि बनेजस्तो । फेसबुक र ट्वीटरमा उनलाई मनपराउने र पछ्याउनेको संख्या दशौं लाख । उनको व्यक्तिगत लोकप्रियताको अगाडि तत्कालीन माओवादी पार्टी नतमस्तक भयो । उनी प्रधानमन्त्री बने । यति लोकप्रिय प्रधानमन्त्री भएपछि आफ्नो पार्टीको अल्पमत भएको संविधानसभा किन राख्ने ?

अर्को संविधानसभाको चुनाव गरे त आफ्नो पार्टीको दुईतिहाई आईहाल्छ । उनकै अगुवाईमा प्रथम संविधानसभा भंग भयो ।

चुनावमा तत्कालीन माओवादीले नराम्रो हार खायो । भट्टराईको त्यत्रो लोकप्रियता हुँदाहँुदै पार्टीका सर्मनाक हार कसरी ? उनको निश्कर्ष आउन बेर लागेन । प्रचण्ड र पार्टीले बोकेको कम्युनिष्ट सिद्धान्तको कारण पार्टीले चुनाब हार्यो ।

उनी तत्कालै वैकल्पिक शक्ति निर्माणको अभियानमा लागे । उनले नयाँ पार्टी बनाए । उनी ढुक्क थिए आफूले बनाएको पार्टी पहिलो चुनावमै प्रमुख राष्ट्रिय पार्टी बन्छ ।

परिणाम नकारात्मक निस्क्यो । तामझाम सहित खोलिएको उनको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । सामाजिक सञ्जालमा उनलाई मन पराउनेले र पछ्याउनेले भोटमा उनलाई पछ्याएनन् । उनको पार्टीको हुर्मत भयो । र, आफ्नी धर्म पत्नी सहित केही कार्यकर्ता बोकेर उपेन्द्र यादवको संघीय समाजवादी फोरममा विलय भए ।

बिबिसीको ६ लाख जागिर छोडेर वरिष्ठ पत्रकार रविन्द्र मिश्र राजनीतिमा आए । सामाजिक सञ्जाल, पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यममा उनको लोकप्रियता पनि कम थिएन ।

मूलधारका राजनीतिक पार्टीहरुलाई धक्का दिएर पहिलो चुनावमै उदाउने उनको तयारी थियो । तर चुनाबमा जनताले उनलाई पत्याएनन् । उनी हराए, हराउदैछन् ।

अहिले एक टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको गरमागरम चर्चा छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा खेपिरहेका लामिछाने एकाएक छाएका छन् ।

सामाजिक सञ्जालले त उनलाई प्रधानमन्त्री नै बनाईसक्यो । बालिका निर्मला बलात्कार र हत्या प्रकरणमा हत्यारा पत्ता लगाउन राम्रो अनुसन्धान नगर्ने सरकार मुर्दावाद भन्ने पात्र र प्रवृत्ति नै आज रविमाथि किन अनुसन्धान गरिस् भन्दै सरकार माथि जाई लाग्दैछ । आशलाग्दा र रविको काँधमा बन्दुक राखेर सरकारतिर पड्काउदैछन् ।

आज रविको समर्थनमा आएको भीडमा रवीवादीहरुको संख्या कति होला ? त्यहाँ त राजावादी, हिन्दुवादी, उग्र कम्युनिष्ट विरोधी, कथित लोकतन्त्रवादीहरुको संख्या अत्यधिक छ ।

सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रव्यापी विकास निर्माण अभियान, पेट्रालियम पाईपलाइन, शासकीय सुधार, संघीयताको कार्यान्वयन, जलश्रोत र उर्जा क्षेत्रमा भएको उल्लेख्य प्रगति, खानीहरूको उत्खनन प्रक्रियाको शुरुवात, स्वावलम्वी अर्थतन्त्रको शुरुवातजस्ता सरकारले गरिरहेका कैयौं राम्रा काम देखेर आत्तिएका व्यक्ति, पार्टी र प्रवृत्तिको वाह वाहमा छन् रवि ।

नकारात्मकताको जगमा बनेको रविको लोकप्रियता कहिलेसम्म ? प्रष्ट छ– अहिले उनको पछि लागेका राजावादी, हिन्दुवादी, उग्र कम्युनिष्ट विरोधी, कथित लोकतन्त्रवादी आ–आफ्नो घर फर्कनेछन् र रवि एक विवादित सञ्चारकर्मीको रुपमा रहिरहने छन् । वा चितवन अदालतले चालु मुद्धामा दोषी नठहराएमा पत्रकारिता छाडेर कुनै राजनीतिक पार्टी प्रवेश गरेर चुनाव लड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित