
काठमाडौँ, ९ भदौ । आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा राजावादी युवाहरु देखिएका छन् ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेको दाबी समेत गरेका छन् ।
उनले देशले अभिभावक खोजेको, जनताले रामराज्य चाहेका र त्यो राजसंस्थाको स्थापनाबाहेक अन्य विकल्पबाट पूरा हुन नसक्ने भनेर पनि उल्लेख गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले नेपालमा प्रमुख राजनीतिक दलको रोडम्यापमा आस्था राखेर नेपाली जनले देखाएको विश्वास धोकामा परिणत भएको दाबी पनि गरेका छन् ।
देश केही भ्रष्ट नेता, उनका आफन्तहरुका लागि हाँस्ने, रमाउने, सुखभोग गर्ने स्वर्णभूमि भएको भन्दै उनले कसैले मारिइँदा, लुटिइँदासमेत न्याय पाउन नसकेको उल्लेख गरेका छन् । समाजका कुनै पनि तह र तप्काले राज्यबाट सुरक्षाको अनुभूति महशुस गर्न नसकेको उनको आरोप छ ।
नेपाली जनताको सरलताको फाइदा उठाएर, नेपाली जनतालाई नै बलिवेदीमा चढाएर दलहरुले विदेशीको इशारामा धर्म बेच्ने, पहिचान बेच्ने, राष्ट्रिय एकताको प्रतीक नामेट पार्ने जुन कर्म गरे त्यो सर्वथा कुकर्म थियो भन्ने आज प्रमाणित भइसकेको उनको दाबी छ ।
‘अब मुलुकले यो राक्षसराजबाट मुक्ति चाहेको छ । देशले अभिभावक खोजेको छ । जनताले रामराज्य चाहेका छन् । त्यो राजसंस्थाको स्थापनाबाहेक अन्य विकल्पबाट पूरा हुन सक्दैन’, उनले भनेका छन्, ‘धर्मनीतिका आधारमा राजनीति चल्नु पर्छ, राजा र जनता भनेकै सहि अर्थमा राष्ट्र हो भन्ने मूलसूत्रलाई नबिर्सि हामीले अझै सशक्त भएर यो देशको रक्षाका लागि एकताबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ ।’












प्रतिक्रिया