
भरतपुर, ८ भदौ । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पाँच वर्ष कैद सजायको माग गर्दै जिल्ला अदालत चितवनमा मुद्धा दर्ता भएको छ ।
लामिछानेसहित ३ जना विरुद्ध पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
पत्रकार पुडासैनीले गएको साउन २० गते चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए ।
सोही भिडियोका आधारमा प्रहरीले लामिछाने, युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध पुडासैनीपत्नी सम्झनाले किटानी जाहेरी समेत दिएकी थिइन् ।
प्रहरीले अनुसन्धान सकेर आज नै सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको पुष्टि गरे ।अभियोगपत्रमा मुलुकी अपराध संहित २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेकको उनले बताए ।
अब अदालतले अभियु्क्त तीनै जनासँग बयान लिनेछ । बयान भइसकेपछि थुनछेक बहस भएर अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिनेछ ।
जाहेरीवालाको तर्फबाट पाँच जना अधिवक्ताले बहस गर्नेछन् भने प्रतिवादीका तर्फबाट शुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्ने बताइएको छ ।















प्रतिक्रिया