आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पुडासैनी प्रकरणमा प्रहरीले भन्यो : हाम्रो तर्फबाट अनुसन्धान सकियो

दैनिक नेपाल २०७६ भदौ ८ गते १२:४४

भरतपुर, ८ साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आफ्नो अनुसन्धान सकिएको जनाएको छ ।

अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले आत्महत्या र आत्महत्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

घटनाको अनुसन्धान गरिरहेका सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आजै पत्रकार सम्मेलन गर्दै आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए ।

उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिएका छन् । आजैदेखि थुनछेक बहस हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जाहेरीवालाको तर्फबाट पाँच जना अधिवक्ताले बहस गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट शुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् ।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मीता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन् ।

तर, रविका समर्थकहरुले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै चितवनमा प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित