सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

मङ्गलबजार परिसरमा शनिबार भीमसेन जात्रा मनाईँदै

दैनिक नेपाल २०७६ भदौ ७ गते ९:२२

काठमाडौं, ७ भदाै । ललितपुरको मङ्गलबजार परिसरमा शनिबार भीमसेन जात्रा मनाईँदै छ ।

भीमसेनलाई विशेष गरी व्यापार व्यवसायमा लागेका मानिसले आराध्यदेवका रूपमा पूज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् ।

भीमसेन मन्दिरमा शनिबार बिहानैदेखि पूजा आरधनाका लागि स्थानीयको ठूलो भिड लागेको मङ्गल टोल सुधार सङ्घले जनाएको छ । प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन भीमसेन जात्रा मनाइने चलन छ ।

सो जात्रामा उपत्यकाको काठमाडाैँ, ललितपुर र भक्तपुर तीनै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेका सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिए ।

“जात्राका अवसरमा बेलुका भीमसेनको सानो मूर्तिलाई खटमा राखेर सुन्धारा, ओकुबहाल, हौगल, टङ्गाल, पिम्बहाल, पूर्णचण्डी कुम्भेश्वर हुँदै मङ्गलबजार परिक्रमा गराइन्छ”, धारीले भने, “रथयात्रा गराइने सो मूर्तिलाई दिउँसै मन्दिरबाट निकालिने गरिन्छ ।” जात्राका लागि भीमसेनको मूर्ति लिन जाँदा आँखा चिम्लेर अँध्यारो कोठाबाट झिकिने र सो मूर्ति हातमा पर्नासाथ रातो कपडाले छोपिने चलन रहेको बताइएको छ ।

भीमसेनलाई प्रत्येक टोलवासीले विशेष महत्व राखेर बासनादार धुपबालेर स्वागत गर्ने गर्छन् । यो जात्रालाई रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोस्रो ठूलो जात्राको रूपमा पाटनबासीले मान्ने गरेका छन् ।

सो अवसरमा पाटनका हजाराैं भक्तजनहरूले विभिन्न टोलबाट विभिन्न परिकार चढाएर नगर परिक्रमा गर्दछन् । भीमसेनको उपासनाले घरघरमा श्रीवृद्धि हुने मान्यता रहँदै आएको छ ।

भीमसेनको प्रिय परिकार लड्डु र पेडा चढाइ पूजाआजा गर्दा व्यवसाय राम्रो हुँदै जाने सुन्धाराकी सरिता महर्जनको विश्वास छ । देशभरका विभिन्न स्थानमा मनाइने भीमसेनको जात्रामध्ये ललितपुरमा हुने सो जात्रा सर्वाधिक लोकप्रियका रूपमा मानिन्छ । चार वर्षअघि भत्किएको सो भीमसेन मन्दिरको पुनःनिर्माण जारी छ ।

प्रतिक्रिया
सम्बन्धित