बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन : कश्मिर मुद्धामा ‘भूमिका खेल्न’ आग्रह

दैनिक नेपाल २०७६ भदौ ६ गते १४:०७

काठमाडौँ, ६ भदौ । कश्मीर मुद्दालाई लिएर पाकिस्तानी विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सकेर फर्केकै राति पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे प्रश्न उठाएका हुन् । मन्त्री कुरेसीले भारतले कश्मीरमा लागू धारा ३७० खारेज गर्दै विशेषाधिकार खोसेको अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌ंगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरेका बताइएको छ ।

‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत नियन्त्रित जम्मु तथा कस्मिरका पीडित जनतालाई सहज बनाउने भारतलाई प्रभावित गरोस् भन्नुभएको छ ।’

विदेश मन्त्री कुरेसीले दक्षिण एसियाली मुलुकमा शान्ति र स्थिरता कायम गरिराख्नका लागि सार्क अध्यक्षका राष्ट्रका हैसियतले भारतका कारण कश्मीरमा संकटमा परेका जनताको पक्षमा बोलिदिन आग्रह गरेका हुन् ।

पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा कुरेसीले ज्ञवालीको टेलिफोन संवादमा भारत अनिनस्थ कश्मीरमा देखिएको समस्याबारेमा गम्भीर वार्ता भएको उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेशमन्त्रीले कश्मीरमा भारतले गरेको हस्तक्षेप अवैधानिक र एकपक्षीय कारवाहीको संज्ञा दिँदै त्यस्तो कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिद्धान्तविपरित भएको जिकिर गरेका छन् । पाक र नेपाली मन्त्रीबीच भारतले कश्मीरमा हस्तक्षेप गरेको तीन सातापछि फोन वार्ता भएको हो ।

दुवै नेताहरुबीच बिहीबार राति टेलिफोन वार्ता भएको थियो। नेपालसँग टेलिफोन वार्ताको बारेमा पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

नेपालको परराष्ट्र स्रोतले पनि त्यसलाई पुष्टि गरेको छ। ‘पाकिस्तानी विदेश मन्त्रीको त्यस्तो आग्रहको प्रतिउत्तरमा मन्त्री ज्ञवालीले नेपालले जम्मू-काश्मीरको अवस्थालाई नजिकैबाट नियालिरहको शान्तिपूर्ण माध्यामबाट विवाद समाधान गर्न निरन्तर आग्रह गरेको स्मरण गर्नुभयो,’ मन्त्रालय स्रोतले भन्यो।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीसँग कस्मिरको परिस्थितिबारे पाकस्तानी विदेशमन्त्री कुरेसीले छलफल गरेको जनाएको छ ।

‘पाकिस्तान विदेशमन्त्रीले नेपाली समकक्षीसँग भारतको गैरकानुनी तथा एकपक्षीय कारबाहीले विवादास्पद जम्मु तथा कस्मिरको अवस्थामा परिवर्तन गरेको छ, जसले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई तोडेको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनले भारतले नियन्त्रणमा रहेको जम्मु तथा कस्मिरमा चालेको कदमले यस क्षेत्रका शान्ति तथा सुरक्षालाई गम्भीर जोखिममा पारेको छ।’

भारतले कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने निर्णयसहित धारा ३७० पनि खारेजी गरेपछि अहिले पाकिस्तानसँग तनाव चुलिँदै गएको छ । कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिआएको छ ।

‘भारतले कश्मीरमा टेलिफोन र इन्टरनेट काटिदिएको छ । अवस्था गम्भीर र संकटपूर्ण छ’, उनले भनेका छन्, ‘खाद्यान्‍नको संकट चुलिएको छ । अत्यावाश्यक औषधिसमेत त्यहाँ छैन । १७ दिनदेखि बाहिरी विश्वबाट कश्मीरलाई पूरै अलग थलग पारिएको छ ।’ पाकिस्तानी मन्त्रीले भारतका कारण कश्मीरमा नरसंहार मच्चिएको पनि उल्लेख गरेका छन् ।

नेपालले कस्मिरका विषय दुई पक्षीय विषयमा भएकोले वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ। कस्मिरलाई भारत र पाकिस्तान दुवै देशले आफ्नो सार्वभौमिकता भएको दाबी गर्दै आएका छन् ।

अगस्ट ५ मा दिन भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्ता खारेज गरेको थियो । त्यसैगरी जम्मु तथा कस्मिरलाई स्थानीय संसद् रहने गरी केन्द्र शासनअन्तर्गत राख्दै भारतले लद्दाखलाई भने छुट्टै प्रशासनिक इकाइ बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित