सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

दशवर्षे जनयुद्धमा आधारित ‘उज्यालोको खोजीमा’ लोकार्पित

दैनिक नेपाल २०७६ भदौ ४ गते २१:३४


काठमाडौँ, ४ भदौ । खिमा रिजालको दशवर्षे जनयुद्धको घटनाक्रममा आधारित संस्मरणात्मक कृति ‘उज्यालोको खोजीमा’ (सङ्घर्षका पाइला) को लोकार्पण गरिएको छ । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले पुस्तकको लोकार्पण गर्दै रिजालको पुस्तक नेपाली साहित्यको उत्कृष्ट रचना भएको बताउनुभयो ।

उहाँले जनयुद्धका विषयमा धेरै पुस्तक प्रकाशन भए पनि रिजालको कृति सबैले पढ्नैपर्ने खालको भएको बताउनुभयो । “अन्य पुस्तकमा सम्बन्धित पार्टीका मात्रै विषय समावेश गरेको पाएको छु”, उहाँले भन्नुभयो, “यसमा सबैका कुरालाई स्थान दिइएको छ ।” उपाध्यक्ष गौतमले शहीद र योद्धाको गाथा बोकेको कृति कम्युनिष्ट विचार धाराबाहेकका अन्य शक्तिलाई उपयोगी हुने धारणा राख्नुभयो ।

उहाँले महिलाको सहभागिताविना विश्वका कुनै पनि युद्ध र आन्दोलनले सफलता नपाएको जिकिर गर्दै नेपालमा पनि परिवर्तनका लडाईंमा महिलाको भूमिका अग्रणी रहेको बताउनुभयो ।

उहाँले नेकपाको केन्द्रीय कमिटीमा महिलाको सहभागिता निकै कम रहेको भन्दै महिला सहभागिता वृद्धि गर्न आफू लागिपरेको बताउनुभयो । “चार सय ४१ जनाको केन्द्रीय कमिटीमा करीब १० प्रतिशत मात्रै महिला छन्”, उहाँले भन्नुभयो, “महिलाको प्रतिनिधित्व बढाउन मैले सङ्घर्ष गर्नेछु ।”

पुस्तकका टिप्पणीकर्ता रामप्रसाद ज्ञवालीले लेखकले जनयुद्धमा भईगरेका यथार्थ घटना र शान्ति प्रक्रियामा आइसकेपछिका गतिविधिलाई पुस्तकमा उतारेको बताउनुभयो ।

“पद र सत्ता नपुग्दासम्म विभिन्न आश्वासनले जनतालाई प्रभावित पार्ने, पछि सत्तामा गइसकेपछि जनताका आवश्यकतालाई बेवास्ता गरेका विषयलाई उठाइएको छ”, उहाँले भन्नुभयो, “नेताहरु व्यक्तिगत स्वार्थमा अल्झिँदा जनयुद्धले बोकेका मूल्यमान्यता कमजोर बन्दै गएको अवस्थालाई चित्रण गरिएको छ ।”

समीक्षक प्रा डा सुधा त्रिपाठीले दशवर्षे युद्धको शुरुआती चरणदेखि अन्तिमसम्म पनि माओवादी आन्दोलनलाई साथ दिएकी रिजालले माओवादी आन्दोलनका राम्रा, नराम्रा दुवै पक्षलाई कृतिमा उल्लेख गरेको बताउनुभयो ।

लेखक रिजालले जोखिम, कठिनाइ र अभावबीचमा जनयुद्धमा होमिएको बताउनुभयो । “हामी महिलाले युद्धलाई सफल तुल्याउन निकै ठूलो सङ्घर्ष गरेका हौँ”, उहाँले भन्नुभयो, “तीन हजार महिलाले ज्यान गुमाएका छन्, धेरै बेपत्ता र घाइते भएका छन् ।” उहाँले पुस्तक लेख्ने बेलामा धेरैपटक भक्कानिएको र लेख्न बन्द गर्ने मनसायमा पुगे पनि हिम्मत गरेर पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो ।

“स्वयं आफ्नै श्रीमान् गुमाएँ, धेरै साथीहरुको ज्यान गयो, भक्कानिँदै उहाँले भन्नुभयो, “बाँचेकाले जनयुद्धको कथा, व्यथा लेख्नुपर्छ भनेर लेख्न थालेकी हुँ ।”

उहाँले पुस्तक प्रकाशन गर्न नदिन र गरिसकेपछि पनि बजारमा ल्याउनबाट रोक्न विभिन्न धम्की आए पनि पुस्तक ल्याउन सफल भएको बताउनुभयो । “ज्यान मार्ने सम्मका धम्की आए”, उहाँले भन्नुभयो, “म नरहे पनि पुस्तक प्रकाशन गरिदिनु भनेर पाण्डुलिपि दुई जनालाई बुझाएकी थिएँ तर आफैँ बजारमा ल्याउन पाउँदा खुशी लागेको छ ।”

उहाँले पुस्तकमार्फत गलत प्रवृत्तिको खबरदारी गर्न खाज्दा आफूलाई अन्यायमा पारिएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य देवी खड्काले माओवादी युद्धका बारेमा सुनेर र देखेर लेखिएका पुस्तकको तुलनामा भोगेर लेखिएको यो पुस्तकबाट धेरै कुरा थाहा पाउन सकिने बताउनुभयो ।

भुँडीपुराण प्रकाशनका सञ्चालक रामप्रसाद पराजुलीले पुस्तक रोक्नका विभिन्न दाबब आए पनि आफूले असल प्रकाशकको भूमिका निर्वाह गरेर पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित