१६ कार्तिक २०८३, सोमबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न सांसदहरुको माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ भदौ । सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिनुभयो ।

सांसद बलराम बाँस्कोटाले भन्नुभयो, “राजतन्त्र समाप्त भइसक्यो । समाप्त भएको राजतन्त्र पुनस्र्थापनाका अवाञ्छित गतिविधि गर्नेमाथि नियन्त्रण गर्नुपर्छ । यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारवाहीसमेत गर्नुपर्छ ।”

उहाँले सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँदै कोहीमाथि प्रश्न उठिसकेपछि अनुसन्धान गर्ने काम सरकारको हो, कसैले पनि अनुसन्धानमा बाधा पु¥याउन हुँुदैन भन्नुभयो ।

सांसद धनकुमारी खतिवडाले तराई÷मधेशसहित देशका विभिन्न जिल्लामा आएको डुबान, बाढीपहिराका पीडितलाई थप राहतको व्यवस्था गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “उद्यपुरको मदनभण्डारी राजमार्गमा ४३ वटा पुल छिटो निर्माण सम्पन्न हुनुप¥यो । पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार काम हुनुप¥यो । खेतीयोग्य जमीन नष्ट हुनेतर्फ ध्यान दिनुपर्यो ।”

यसैगरी, बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन आग्रह गर्दै समाजिक सञ्जालले कसैलाई दोषी र निर्दाेष प्रमाणित गर्न सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ ।”

सांसद सुमनराज प्याकुरेलले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय भेटघाट तथा छलफल हुँदा कोशी सम्झौताका बारेमा कुराकानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भारतले कोशी सम्झौता कार्यान्वयन नगर्दा नेपाललाई असर परेको छ । अहिले सप्तरी, उदयपुरवासी रिले अनशनमा छन् । अनशनरत जनताको माग सम्बोधन हुनुपर्छ ।”

सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको छ, यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसंग माग गर्नुभयो ।

सांसद कोमल ओलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिनुभयो । सांसद तारादेवी भट्टले युवाहरुलाई स्वदेशभित्र नै रोजगारीको व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद रामप्रीत पासवानले प्रक्रिया पुगेका नागरिकलाई नागरिकता दिनुपर्छ भन्नुभयो ।

सांसद खिमकुमार विक र रामनारायण विँडारीले सञ्चारकर्मी रवि लामिछानेको छानबिनमा बाधा पु¥याउनेलाई कारवाही गर्नुपर्छ भन्नुभयो ।

सांसद रमेशप्रसाद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिको शिक्षक कोटामा अन्य व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । –रासस