आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

एकैपटक १६ सचिवको सरुवा, ४ सहसचिवको बढुवा

दैनिक नेपाल २०७६ भदौ ४ गते ११:२३

काठमाडौँ, ४ भदौ । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले ४ जना सहसचिवलाई सचिवमा बढुवा समेत गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् ।

राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन् ।

स्रोतका अनुसार केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । यसअघि उनी वाणिज्य तथा आपूर्ति सचिव थिए । यसैगरी पर्यटनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद पुनरवलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा सरुवा गरिएको छ।

सिँचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सर्तकता केन्द्रका माधव वेल्वासेलाई खानेपानी मन्त्रालय, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र जनसंख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी, लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयका सरुवा गरिएको छ।

प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोकसेवा आयोगमा र प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित