
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ।
ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक आज सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता सहभागी छन् । प्रतिनिधिसभामा नेकपा, काँग्रेस, समाजवादी पार्टी नेपाल र राजपाले प्रतिनिधित्व गर्छन् ।
संक्रमणकालीन न्याय निरूपणसम्बन्धी अल्झिएको विषयका गाँठो फुकाउनका लागि प्रधानमन्त्रीले बैठक डाकेको उनको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, बाबुराम भट्टराई सहभागी छन् । नेकपाका शीर्ष नेतामध्ये माधवकुमार नेपाल भने बैठकमा सहभागी छैनन् ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री भानुभक्त ढकाल पनि सहभागी छन् । यस्तै, नेकपाबाट बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल उपस्थित छन् ।
काँग्रेसबाट उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू बालकृष्ण खाँण, मीनेन्द्र रिजाल पनि सहभागी छन् ।
उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपा नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायत पनि बैठकमा सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया