बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

पुडासैनी मृत्यु प्रकरण : रवि लामिछानेसहित तीन जनाविरुद्ध म्याद थपिदै

दैनिक नेपाल २०७६ भदौ ३ गते ११:४६

काठमाडौँ, ३ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अदालतसँग थप म्याद माग्ने तयारी गरेको छ ।

लामिछानेसँगको बयान नसकिएकाले थप अनुसन्धानका लागि आज पुनः म्याद माग्न लागिएको चितवन प्रहरीले जनाएको छ । पक्राउपछि प्रहरीले ३१ साउनमा अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो । अदालतले पहिलोपटक दिएको म्याद आज सकिदैछ । अनुसन्धान नसकिएकाले प्रहरीले थप समय खोजेको हो ।

म्याद थपका लागि तीनैजनालाई आज दिउँसो पुनः अदालत पेस गर्ने प्रहरीको तयारी छ । स्रोतका अनुसार त्यसअघि रविसँग थप बयान लिइनेछ । लामिछानेसँगै पक्राउ परेका अस्मिता कार्की र युवराज कँडेलसँगको बयान भने सोमबारै सकिएको चितवन प्रहरीले जनाएको छ।

रविसँगको बयान नसकिएकाले पुनः म्याद थप्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर, भिडियो भने नहेरेको बताएका प्रहरी श्रोतले जनाएको छ ।

पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी दिइसकेकी छन् । परिसरले उनको जाहेरी चितवन पठाइसकेको छ ।

पोस्टमार्टम रिपोर्टले झुन्डिएकै कारण पुडासैनीको मृत्यु भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएको छ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइकसेको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको प्रहरी स्रोतले जनाएको छ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ।

नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ।

पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवन पुगेका छन् ।

रविका समर्थकहरुले भने उनी निर्दोष रहेको भन्दै चितवनमा प्रदर्शन गरिएका छन् । अनुसन्धानलाई नै प्रभावित पार्नेगरि प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र ताेकेको छ । प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने रविका १३ जना समर्थलाई समेत प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनका राजनीतिक दल, मानवअधिकारकर्मी र होटल व्यवसायीहरुले प्रदर्शनका नाममा उदण्डता देखाएको भन्दै त्यसको विरोध गरेका छन् । राजनीतिक घुसपैठ भएको र विषयलाई अत्यत्रै मोड्न खोजिएको भन्दै सोमबार मात्रै रवि लामिछाने बचाउ संघर्ष समितका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित