आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

बिनादर्ता बिक्री भएका १ हजार औषधि फिर्ता गर्न ताकेता, बिक्री गरिए फार्मेसीको दर्ता प्रमाणपत्र खारेजी

दैनिक नेपाल २०७६ भदौ ३ गते ७:०३

काठमाडौं, ३ भदाै । दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ ।

विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

विभागका प्रवक्ता सन्तोष केसीले दर्ता नभई औषधि बिक्री नगर्न औषधि विक्रेतालाई अनुरोध गरे । उनले भने, ‘केही लुकीछिपी पनि बिक्री भइरहेका छन् ।

बजार अनुगमनका क्रममा दर्ताबिना औषधि बिक्री गरेको पाइए औषधि ऐन २०३५ अनुसार कारबाही हुन्छ ।’ औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड दर्ता भएका छन् ।

स्रोतका अनुसार झन्डै १ हजार ब्रान्डका खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका छन् ।

विभागले दर्ता नभएका औषधि बिक्री वितरण नगर्न थोक तथा खुद्रा विक्रेतालाई अनुरोध गरेको छ । विभागले एक सूचना जारी गरी निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिको सञ्चय तथा बिक्री वितरण गरेको पाइएमा औषधि ऐनबमोजिम त्यस्ता औषधि जफत गर्ने चेतावनी दिएको छ ।

विभागले सूचना जारी गर्दै औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा विक्रेताहरूलाई दर्ता भएका औषधि मात्रै बिक्री वितरण गर्न भनेको छ ।

औषधि ऐन २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा विक्रेताले ऐनको दफा १० (क) बमोजिम विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोमबार जारी गरिएको सूचनामा भनिएको छ, ‘कानुनबमोजिम दर्ता नभएका औषधि बिक्री वितरण नगर्न र नगराउन सम्पूर्ण थोक तथा खुद्रा विक्रेताहरूमा अनुरोध गरिन्छ । निरीक्षणका क्रममा बिक्री गरेको भेटिए औषधि पसलको दर्ता प्रमाणपत्र खारेजी र औषधि जफत गरिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित