१६ कार्तिक २०८३, सोमबार

कक्षा ९ देखि १२ सम्म योग शिक्षा लागू गर्न सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडीबुटीलगायत विषय अध्ययनका सम्बन्धमा गठित समितिले प्रतिवेदन बुझाएको छ ।

उहाँलाई आज समितिका संयोजक डा हरिप्रसाद पोखरेलले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा प्रतिवेदन बुझाउनुभएको हो ।

समितिको प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले आवश्यक तयारी र छलफलपछि समितिका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले योग, प्राकृतिक चिकित्सा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने पनि बताउनुभयो ।

प्रतिवेदनमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटीको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा यस्ता ऐच्छिक विषयहरु तत्काल अध्यापनको व्यवस्था गर्न सुझाव दिइएको छ ।

प्रतिवेनदमा ती विषयका पाठ्यक्रमसमेत तयार पारी नेपालको संस्कृति, सभ्यता, योगदेखि नेपालका वनजङ्गल जडीबुटीको अध्ययन गर्न सकिने समितिका संयोजक डा पोखरेलले बताउनुभयो । सरकारले योगमाया विश्वविद्यालय तयारीसमेत गरेको छ ।

मन्त्रालयले गत वैशाखमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्वविद्यालयका अध्यक्ष पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिको सदस्यहरुमा प्राडा सञ्जय पोखरेल, प्राडा नन्दबहादुर सिंह, डा शेषराज आचार्य, डा जनकबहादुर बस्नेत, डा लेखनाथ पौडेल, सञ्जीवकुमार तथा सदस्य–सचिव प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का पाठ्यक्रम विकास महाशाखाका निर्देशक दीपकप्रसाद पौडेल रहनुभएको थियो । –रासस