सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

पत्रकार अधिकारीको श्रीमतीलाई रोजगारी र छोराछोरीलाई अध्ययनको व्यवस्था गरिने

दैनिक नेपाल २०७६ भदौ १ गते २०:०७

-प्रतिक पौडेल
भैरहवा, १ भदौ । लगानी सम्मेलनको प्रचार प्रसारमा जाँदै गर्दा सवारी दुर्घटनामा परि मृत्यु भएका पत्रकार डायलसन अधिकारीको श्रीमतीलाई रोजगारी र छोराछोरीलाई अध्ययनको व्यवस्था गर्ने तिलोत्तमा नगरपालिकाले घोषणा गरेको छ ।

नगरपालिकाका मेयर वासुदेव घिमिरेले स्व. पत्रकार अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाले आयोजना गर्ने लगानी सम्मेलनको प्रचार प्रसारमा जाँदा सवारी दुर्घटनामा परि मृत्यु भएकोले उनको दीर्घकालसम्म स्मरण गर्ने गरि नगरपालिकाले अक्ष्यकोषको स्थापना गर्ने समेत घोषणा गरे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउदो असोज ९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीप शनिवार बिहान सप्तरीको कञ्चनपुर नगरपालिका –११ बक्साह चोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो ।

स्वर्गीय अधिकारीको शव सप्तरीबाट आईतवार विहान उनको निवास तिलोत्तमा नगरपालिका वडा नं. ३ मा ल्याई अन्तिम श्रद्धाञ्जली पछि अन्त्येष्टी गरिएको हो । पत्रकार अधिकारीको आईतवार बुटवलको योगिकुटी स्थित मगरघाटमा अन्त्येष्टी गरिएको छ ।

अन्त्येष्टीमा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, राजनैतिक दलका नेता कार्यकर्ता, पत्रकार, उद्योगी व्यवसायी लगायत सयौंको सहभागिता थियो । पत्रकार अधिकारी रेडियो नेपालको बुटवल संवाददाताका साथै आफै इ–लगन अनलाईन सञ्चालन गर्दै आउनु भएको थियो ।

नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार समेत रहेका अधिकारीको परिवारमा बृद्ध बुवा, श्रीमती, एक छोरी तथा एक छोरा रहेका छन् । पत्रकार अधिकारीको निधनप्रति प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले दुःख व्यक्त गर्दै विज्ञप्ती मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित