बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

नेकपामा शक्तिशाली वामदेव, पार्टीमा पनि बलियाे

दैनिक नेपाल २०७६ भदौ १ गते ६:३२

काठमाडौं, १ भदाै । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन्।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए।

त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

तत्कालीन एमालेभित्र ओली र नेपालपछि गौतम बलिया थिए। तत्कालीन माले समूहको नेतृत्वमा रहेका कारण पार्टीभित्र उनको छुट्टै हैसियत थियो। नवौं महाधिवेशनमा ओली–गौतमको समीकरण बनेकै कारण ओलीले अध्यक्षमा जिेतका थिए।

पार्टी एकतापछि निरन्तर कमजोर बन्दै जान थालेपछि उनी निकटका केही नेताहरूले गुट अदलबदलसमेत गरे। त्यतिबेला गौतमले आफ्नो समूहलाई छिन्नभिन्न पार्ने प्रयास भइरहेको बताएका थिए। तर पनि उनको नेकपाभित्र ओली, दाहाल, नेपालपछि रामबहादुर थापासरहकै गुटको प्रतिनिधित्व गर्थे।

पार्टी केन्द्रीय समितिको ४४१ सदस्यमा झन्डै ५ प्रतिशत नेता गौतमसँग छन्। केन्द्रीय समितिमा केशवलाल श्रेष्ठ, दलबहादुर राना, बलराम बाँस्कोटा, राधा ज्ञवाली, हरिप्रसाद पराजुली, सावित्रीकुमार भुसाललगायत नेता गौतम पक्षका छन्।

शुक्रबार थपिएका प्रदेश पदाधिकारीसहित प्रदेशका ४२ पदाधिकारीमा गौतम पक्षका तीन नेता जिम्मेवारीमा छन्। जिल्ला अध्यक्षमा गौतमका ८ नेता छन्। पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जमा उनी पक्षका एक दर्जन नेताले जिम्मेवारी पाएका छन्। यसैबीच नेकपा सचिवालय बैठक आइतबार बस्दैछ।

प्रतिक्रिया
सम्बन्धित