बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेताहरूको कार्य विभाजन : पाउला त नेकपाले नयाँ ब्रान्डिङ्ग ?

निर्मल भट्टराई २०७६ साउन ३२ गते ८:३७

नेकपाका शीर्ष नेताहरूले पार्टी एकताको करिब एक बर्ष सांगठनिक एकतामा बिताउँदै आएका छन् । माथिदेखि तलसम्मको अनुपातिक भागबण्डा मिलाउन ठूलो कसरत गरेका सचिवालयका शीर्ष नेताहरू आफ्नो जिम्मेवारी बाँडफाँटमा समेत लामो समयसम्म सहमतिमा पुग्न सकेनन् । पार्टीका तेत्तीस विभागका आ–आफ्नै महत्व र सीमा भए पनि विचार, संगठन र प्रचारसंग सम्बन्धित विभाग पार्टीका सबभन्दा महत्वपूर्ण अंगको रुपमा लिइन्छ ।

पार्टी हाँक्ने सबभन्दा महत्वपूर्ण पक्ष विचार भएकोले नै होला पार्टी स्कुल विभागको नेतृत्वको विषयमा बढी नै विवाद सार्वजनिक भयो । एकताको महाधिवेशनको बर्ष (२०७७ साल) तोकिएको अवस्थामा महाधिवेशनमा प्रस्तुत गरिने विचारको निरुपण गर्ने सवाल आफैंमा महत्वपूर्ण त छँदैछ, जनताको बहुदलीय जनवादले नै एकीकृत नेकपाको वैचारिक निरन्तरता पाउनु पर्छ भन्ने मान्यता दह्रोसँग राख्ने सचिवालय सदस्य ईश्वर पोखरेललाई विचारको नेतृत्व दिने निर्णय हुनु अघि तत्कालीन माओवादी वृत्तमा केही आशंका र असन्तुष्टि समेत देखा पर्यो, जुन अस्वभाविक होईन ।

पार्टी एकता हुनु अधि तत्कालीन एमाले र तत्कालीन माओवादीको आ–आफ्नो ब्रान्ड बनाएका थिए । कम्युनिष्टको “क” नबुझ्नेले “एमाले” चिन्दथ्यो । समर्थकले चिन्दथ्यो, विपक्षीले चिन्दथ्यो ।  जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादप्रति सद्भाव राख्ने जनताको ठूलो पङ्क्ति पार्टीका घेरा बाहिर समेत थियो ।  त्यस्तै कुनै वेला नेपालको कम्युनिष्ट आन्दोलनमा “माओवादी” शब्दको ब्रान्डिङ्ग पनि चानचुने थिएन । पार्टी एकता पछि स्वभाविक रुपमा यी ब्रान्डहरूको लोप भएको छ ।

नेकपाले नयाँ गरि नसकेको अवस्थामा नेता ईश्वर पोखरेलको सामु पार्टीले अंगिकार गर्नुपर्ने विचारको निर्माण र त्यसको समग्र पक्षको मात्र नेतृत्व गर्नु पर्ने छैन, विचारको क्षेत्रमा नयाँ ब्रान्डिङ्गको सिर्जना गर्नु पर्नेछ, जसरी तत्कालीन एमालेमा जननेता मदन भण्डारीले गर्नुभएको थियो ।

निर्मल भट्टराई

प्रष्टै छ– संगठनको एकता गर्दा अनुपात र संख्यालाई मापदण्ड बनाईयो । तर वैचारिक एकीकरण त्यो आधारमा हुदैन । माक्र्सवाद र लेनीनवादलाई नेपालको धरातलीय यथार्थमा सिर्जनात्मक प्रयोग कसरी गर्दा नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो गन्तव्यमा अविचलित पुग्न सक्छ भन्ने आधारमा व्यापक बहसमार्फत् निक्र्यौल गरिन्छ । अबको नेकपाको वैचारिक पक्षको उल्लेख गर्दा नेकपाको समाजवादी गन्तव्य कस्तो हुन्छ भन्ने विषय अगाडि आईहाल्छ, जुन अत्यन्त स्वभाविक छ । विचारमा दृढ, संगठनमा समन्वयकारी, भिजनरी नेता ईश्वर पोखरेलले यो वेडा सजिलै पार लगाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

तत्कालीन एमालेको संगठनलाई अरु सबै पार्टीले प्रशंशा वा ईष्याको भावले हेर्दथे । हुन पनि समकालीन पार्टीमा तत्कालीन एमालेको जस्तो व्यवस्थित र शक्तिशाली संगठन कसैको थिएन । त्यति बेलाका शक्तिशाली नेता बामदेव गौतमको नेतृत्वमा तत्कालिन एमाले विभाजन हुँदा पनि सो पार्टीको संगठनमा खासै फरक परेन ।

केही वर्षपछि वामदेव गौतम पार्टीमा फर्कनुभयो, थुप्रै नेता कार्यकर्ता माओवादी आन्दोलनतिर छोडेर । तत्कालीन एमालेको संगठन शक्तिशाली हुनुको प्रमूख कारण पार्टीका हरेक संगठन तोकिएको पद्धतिले चल्दथे । नेकपाको अहिलेको चुनौति एकताको नाउँमा सांगठानिक पद्धतिलाई कुल्चदै जाने पनि हो ।

नेपालको कम्युनिष्ट आन्दोलनका विभिन्न सांगठानिक शैली देखेर भोगेर आएका, समस्यालाई प्रष्ट देख्न र राख्न सक्ने, पार्टी निश्चित सांगठानिक शैलीका पक्षपाती नेता बामदेव गौतमले आश्चर्यजनक रुपमा पार्टी एकता पछिको संगठनको सफल नेतृत्व गर्ने निश्चित छ । संगठित सदस्यता, लेवी, केही वैधानिक प्रावधानमा फरक शैली र परम्परा बोकेर आएका तत्कालीन एमाले र तत्कालीन माओवादीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई एउटा निस्चित साँचोमा ढाल्ने काम कम चुनौतिपूर्ण भने छैन ।

पार्टी प्रचारको काम व्यवस्थित नहुदा विगत एक बर्षमा सिङ्गो पार्टी र पार्टीले नेतृत्व सरकार प्रतिरक्षात्मक बन्नुपर्यो । सबैलाई थाहै छ–पार्टी र पार्टीले नेतृत्व गरेको सरकारले राम्रो काम गरेरमात्र पुग्दैन, त्यसको व्यवस्थित प्रचार हुनुपर्छ । एउटा छुट्टै एवं सुन्दर ईतिहास बोकेका नेता नारायणकाजी श्रेष्ठको छनोट प्रशंशा योग्य छ । पार्टी सरकारले अबका दिनमा हरेक स–साना विषयमा प्रतिरक्षात्मक बन्नु पर्ने छैन भन्ने अपेक्षागर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित