शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

यस्ताे बन्दैछ भूपीले ‘हेपेकाे’ भैरहवा

दैनिक नेपाल २०७६ साउन ३० गते १५:२७

-प्रतिक पौडेल
नेपाली साहित्यको नक्षत्र भुपी शेरचन भैरहवा पुग्दा गाउँ जस्तो लाग्ने त्यो भैरहवा देखेर कवितानै रचे । कवितामा उनले भैरहवाको बयान यसरी गरेकी त्यो कविता पढेर भैरहवाको चित्रण गरिने हो भने भैरहवा सबैको अप्रिय बन्ने छ ।

भुपीले भैरहवा कवितामा लाउरेहरुको विश्राम स्थलको रुपमा चित्रण गरेको हिलोको तलाउबाट निस्केको भैँसीको ‘भै’ तावाको छुटेर जलेको रोटीको ’र’ गालीजस्तो नरमाइलो तातो हावाको ‘हवा’ “भैरहवा“ अहिले बदलिएको छ ।

भैरहवा देशकै यस्तो शहर बन्ने दु्तगतिमा अघि बढेको छ । सायद नै कसैले पनि भैरहवाको शहरीकरणको व्याख्या गलत तरिकाले गरोस् ।  भैरहवा आफैले पनि आफ्नो विकासको गति देखेर गौरव गर्दैछ । भैरहवा आफैले मनमनै भन्दैछ परिवर्तनशील यो समयमा म पछि पर्नु हुँदैन ।

रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा आफैमा कुनै पर्यटकीय गन्तव्य त होइन तर यो शहर एउटा यस्तो गन्तव्य हो जहाँ नेपाल घुम्न आउने पर्यटकको लागि पहिलो विश्राम स्थल हुनेछ ।

भैरहवा शहरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केही महिनापछि संचालनमा आउनेछ जसको कारण हवाइमार्फत नेपाल आउने पर्यटकको पहिलो पाइलानै भैरहवामा टेकिनेछ ।

भैरहवा आफैलाई यसरी नव विवाहित दुलही झैँ चिटिक्क पार्दैछ कि हेर्नेले वाह भैरहवा तिमी कति आकर्षक भयौ भन्नेछ । भैरहवा यसरी आकर्षक हुनुमा पहिलो श्रेय भने एसियाली विकास बैँकको सहयोगमा चलिरहेको एकिकृत शहरी विकास परियोजनालाई जान्छ । केही वर्ष पहिले समान्य बर्खामा डुब्ने भैरहवा शहर यसपटक डुवेन यो नै एउटा यस्तो प्रमाण हो जसले साबित गर्छ भैरहवा अब पहिला जस्तो रहेन ।

फराकिला सडक, अपांगमैत्री आकासे पुल, अन्तर्राष्ट्रिय विमानस्थल, तारे होटेल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सपिङ मल, भैरहवा पुग्ने जो कोहीलाई लाग्छ, मुलुकको समृद्धि यहीबाट सुरु हुँदैछ ।

ढल निकास, ग्रिनरीलगायतलाई ध्यानमा राखेर सहरको सौन्दर्यता कायम गर्ने गरी सडक बिस्तार भइरहेको छ ।

केही वर्षअघिसम्म भैरहवा भन्नेबित्तिकै मानिसहरू नाक खुम्च्याउँथे । अव्यवस्थित सहर, जताततै फोहोर, मच्छड लाग्ने, गर्मी पनि उत्तिकै । पहाडबाट तराई झर्नेको रोजाइमा भैरहवा पर्दैनथ्यो । तर, अहिले परिभाषा फेरिएको छ, भैरहवा मुलुककै उदाहरणीय सहरका रूपमा उदाउदै छ ।

फराकिला सडक, उद्योग र होटेलको हब, सडक छेउमा हरियाली, अन्तर्राष्ट्रिय विमानस्थल, व्यवस्थित ढल भैरहवाको विशेषता बन्दैछ ।
त्यसैले, अहिले घरजग्गाको मूल्य चर्किएको छ । भैरहवाले व्यवस्थित औद्योगिक, व्यावसायिक तथा आवासीय सहरका रूपमा परिचय बनाउँदै छ ।

पछिल्लो समय भैरहवामा होटलमा पनि ठूलो लगानी गरिएको छ । घिमिरे समुहले करोडौ लगानीमा भैरहवाको बुद्धचोकमै पाच तारे होटल बनाउदै छ भने भुसाल समुह, एसआर समुह, मारवाडी समहु लगायतले भैरहवाको अन्य स्थान गरि करिब आधा गर्जन सुविधासम्पन्न तारे होटल भैरहवा निर्माणाधीन अवस्थामा रहेका छन् ।

साथै पछिल्लो समय भैरहवा क्षेत्र उद्योगीको आकर्षक क्षेत्र बनेको छ । लुम्बिनी औद्योगिक करिडोरमा एक दर्जन सिमेन्ट उद्योग छन् भने अहिले भैरहवा–परासी करिडोरमा ठूल्ठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, दाल, मैदा, बियर, साबुन, खाद्यान्न, छाला, चाउचाउ, बिस्कुट, कृषिजन्य उद्योगहरू भैरहवामा सञ्चालन भइरहेका छन ।

भैरहवाको बुद्धचोकदेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक फराकिलो बनाउने काम भइरहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर झन्डै दुई हजार किमि लामो बुद्धिस्ट सर्किटको परिकल्पना गरिएको छ । नेपाल र भारतलाई जोड्ने यो सर्किटअन्तर्गत बुद्धको जीवनका चारवटा महत्वपूर्ण परिघटनाका पवित्रस्थल समेटिएका छन् । लुम्बनी, बोधगया, सारनाथ र कुशीनगर बुद्धिस्ट सर्किटभित्र पर्नेधाम हुन् । लुम्बिनीको प्रवेशद्वारनै भैरहवा शहर हो ।

सडक सँगसँगै बेलहिया भन्सारलाई व्यवस्थित बनाइदै छ । नेपालको सीमाक्षेत्रमा आकर्षक स्वागतद्वार बन्दै छ । नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्दै छन् ।

यस बाहेक स्वास्थ्य, वित्तीय, शैक्षिक लगायत छेत्रमा पनि भैरहवा अघि बढ्दै गएको छ ।

समग्रमा भन्नु पर्दा भैरहवाको विकास यस्तो तुफानी गतिमा अघि बढेको छ केही समयपछि संसारमा चिनको द्रुत विकासको उदाहरण सबैले दिएझैँ नेपालीले भैरहवाको विकासको उदाहरण नेपालका हरेक शहरमा दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित