आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

नेकपाभित्र दोहोरो जिम्मेवारीको विरोध, केही ठूला नेताहरूलाई तनाब

दैनिक नेपाल २०७६ साउन ३० गते ९:४५

काठमाडौं, ३० साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरू दोहोरो जिम्मेवारी दिन नहुने माग उठेको छ ।

स्कुल विभाग र जनवर्गीय संगठनहरूको संयोजक तोक्ने विषयमा नेकपाभित्र विवाद भइरहेका बेला पार्टीभित्र दोहोरो जिम्मेवारीको विरोध भएको हो । पार्टी समायोजन अन्तिम चरणमा रहेका बेला नेताहरूले दोहोरो जिम्मेवारीको विषयमा कडा रुपमा अवाज उठाएका हुन् ।

नेकपाका प्रभावशाली नेता टोपबहादुर रायमाझीले शीर्ष नेताहरूको दोहोरो जिम्मेवारीको विरोध गरेका छन् । ‘पार्टीमा एक से एक सक्षम नेताहरू छन्’, उनले भने, ‘सबैलाई अबसर दिनुपर्छ । कसैलाई दोहोरो जिम्मेवारी । कसैलाई कुनै पनि जिम्मेवारी नदिने कुर हुनु हुँदैन ।’

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान कुरा गर्दै रायमाझीले विभाग र जनवर्गीय संगठनहरूको संयोजकको जिम्मेवारी दिँदा क्षमता र वरिष्ठतमका आधारमा दिन माग गरे ।

नेकपाभित्र विशेष गरेर स्कुल विभागलाई लिएर विवाद हुँदै आएको छ । स्कुल विभागमा धेरै नेताहरूले दाबी गरिरहेका छन् ।

नेकपाभित्र मन्त्री, मुख्यमन्त्री र अन्य ठूला पदीय जिम्मेवारीमा रहेका नेताहरूलाई नै दोहोरो, तेहोरो जिम्मेवारी दिने तयारी भएपछि नेता रायमाझीले विरोध गरेका हुन् ।

रायमाझीले कसैलाई काखा र पाखा नगरेर जिम्मेवारी दिनुपर्ने बताएका छन् । उनको यो अभिव्यक्तिले नेकपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित