शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

नेपाल र भारतबीच ‘वीन-वीन’को अवस्था बनाएर बढ्नुपर्छ : भारतीय राजदूत पुरी

दैनिक नेपाल २०७६ साउन २९ गते १७:५४

काठमाडौं, २९ साउन । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच वीन–वीनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताएका छन् । दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको उनले बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने,‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं ।’

वीराटनगर चेकप्वाइन्ट सुचारु हुन गइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको बताए । उनले भने, ‘गेम चेन्जर आयोजनाहरु सफल बनाउँदैछौं ।’ दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको बताए ।

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर बढिरहेकोमा खुशी व्यक्त गरे । भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने बताए ।
भारतले आतंकवादलाई परास्त गरी विकासको मार्गलाई फराकिलो बनाएको बताए । आतंकवादविरुद्धको लडाईंमा भारत सफल भएबाट ठूलो आर्थिक फड्को मारेको बताए । भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको बताए ।

पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए ।

नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्दोगधन्दा खोलिनुपर्नेमा जोड दिए । नेपालको कच्चा पद्धार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउनसक्नुपर्ने बताए ।

पूर्वपरराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए ।

अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । उनले भने, ‘ठूला जलविद्युत आयोजनाहरु बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ ।’

दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने,‘गहन सरसल्लाह गरेर बढ्न सके नेपाल र भारत दुवैको हित हुन्छ ।’ नेपालले भोगिरहेको व्यापार घाटाको समस्या समाधानका लागि निर्यात वृद्धि अनिवार्य रहेको बताए । भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने औँल्याए ।

प्रतिक्रिया
सम्बन्धित