मंगलबार, ३ मंसिर २०७६
DainikNepal.com
मंगलबार, ३ मंसिर २०७६

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

दैनिक नेपाल २०७६ साउन २९ गते १४:५१


काठमाडौँ, २९ साउन । काठमाडौँ, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका १६ बनस्थलीस्थित ना.४ ख १४७९ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा ललितपुर ईमाडोल ४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको मंगलबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका नेपालीको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, रौतहटको राजपुर नगरपालिका २ फतवास्थित बिआर ३२ पिए १५४१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट ६० वर्षीय बिन्देश्वर दासको मृत्यु भएको छ । ठक्कर दिँदा गम्भीर घाइते भएका दासको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका ७ स्थित अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अन्दाजी ७० वर्षीय फगुनी दासको मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, बर्दियाको बासगढी नगरपालिका ६ सतरिया भन्ने स्थानमा भे.२ प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल सवार ४७ वर्षीय खेमलाल सुबेदीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ स्थित लु.१ च ३२४६ नम्बरको बलेरो गाडीले सडक छेउमा बसिरहेको अवस्थामा ठक्कर दिँदा २५ वर्षीय बसन्त थापाको मृत्यु भएको छ । गम्भीर घाइते भएका सोही नगरपालिका १५ बस्ने थापाको बुधबार बिहान क्रिमसन अस्पताल

मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित