मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

फेरि स्थगित भयो नेकपाको सचिवालय बैठक

दैनिक नेपाल २०७६ साउन २९ गते १३:२२

काठमाडौँ, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ ।

आज दिउँसोका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । हिजो मंगलबार बस्ने तय भएको बैठक तयारी नपुगेकाे भन्दै आजका लागि सारिएको थियो ।

तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भएको भेटवार्तामा सहमति नजुटेपछि बैठक फेरि सरेको हो ।

भेटवार्तामा कार्यविभाजनमा दुवै पक्ष आ-आफ्नो अडानमा रहेपछि बैठक स्थगित हुन पुगेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज दिउँसो फेरि छलफल हुने र भाेलि बैठक बस्ने तयारी छ ।

अन्य विभाग टुंगो लागे पनि स्कुल विभागमा कुरा नमिल्दा नेकपा सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी एकताको एक वर्ष पूरा भए पनि अझै प्रक्रिया सकिएको छैन ।

अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनसमेत अपूरै छ ।

गएको १३ गते बसेको बैठकले सबैको इच्छा बुझेर प्रतिवेदन पेश गर्न विष्णु महासचिव पौडेललाई जिम्मेवारी दिएको थियो । सचिवालय बैठकमा महासचिव पौडेलको प्रतिवेदन पेश हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित