मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

‘७० हजार’ कटेपछि काठमाडौंमा सुन बेच्नेको लर्कोे

दैनिक नेपाल २०७६ साउन २९ गते १०:०७

काठमाडौं, २९ साउन । यो साता सुनको भाउ प्रति तोला ७० हजार रुपैंया कटेपछि काठमाडौंका सुन पसलमा बेच्नेको लर्को हुन थालेको छ ।

यसबेला सुन किन्ने भन्दा पनि बेच्नेको घुइँचो हुने गरेपछि सुन पसलेलाई व्यापार सन्तुलन गर्न कठिन भएको बताइएको छ । आफूले बेचेका गहना नै खरिद गर्नुपर्ने अवस्था पसले पुगेका छन् ।

‘ग्राहकले आफूले किनेका सामान बेच्न ल्याएपछि खरिद गर्नुपर्ने हुन्छ । अहिले किन्ने भन्दा पनि बेच्ने धेरै आउनुहुन्छ’, मारुती ज्वेलर्सकी कर्मचारी निर्मला पाण्डे भन्छिन्,‘पहिले यस्तो महिनामा व्यापार धेरै हुने गरे पनि अहिले यस्तो अवस्था देखिएन ।’

चाडवाड सुरु हुँदा नेपाली ग्राहकले सुन खरिद गर्दै आएका थिए । अझ खासगरी तिज आउने बेलामा सुनको व्यापार बलियो थियो । तर, अस्वभाविक हिसाबले सुनको भाउ बढेपछि उल्टो भएको छ, यो बेला किन्ने भन्दा बेच्ने ज्यादा भएका छन् ।

४० देखि ५० लाखको दैनिक व्यापार गर्ने ऋद्धिसिद्धि सुन पसलमा अहिले विक्रिको दर मरीतरी २० लाख पुग्ने गरेको छ । बरु, खरिदको दरमा अस्वभाविक बढेको बताउँछिन् कर्मचारी रेणु बज्राचार्य । उनी भन्छिन्,‘मान्छेको घुइँचो उस्तै देखिएको छ । पहिला किन्न आउनु हुन्थ्यो आजभोली बेच्नेको भिँड देखिन्छ ।’

स्वण संसार ज्वेलर्सकी मेनुका ठाकुरका अनुसार भाउ बढेका कारण बजारमा प्रभाव परेको छ । ७० हजार पुगेपछि दिनमा १० देखि २० तोला सुन पसलले नै खरिद गर्नु परेको छ । उनी भन्छिन्,‘तिजका बेलामा व्यापार बढी हुनुपर्ने हो तर अहिले त उल्टो भएका कारण घाटा बढी भइरहेको छ ।’

यो महिना सुनको भाउ स्थिर नै भएन । अझ घट्ने त कुरै छैन एक दिनमा तोलामा दुई हजारसम्म वृद्धि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित