बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

अब प्रदेश २ को आफ्नै प्रहरी

दैनिक नेपाल २०७६ साउन २९ गते ७:१८

जनकपुरधाम, २९ साउन । प्रदेश २ सरकारले आफ्नै प्रहरी गठनको तयारी थालेको छ। प्रतिनिधिसभाले आइतबार दुई विधेयक पारित गरेसँगै प्रदेश प्रहरी भर्ना गर्न सहज भएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनि नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ ।

यसले संघ र प्रदेश प्रहरीको क्षेत्राधिकार तथा समायोजनको कार्यदिशा प्रस्ट पारेको सरोकारवाला बताउँछन्। विधेयक कानुन बन्न राष्ट्रियसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्न भने बाँकी छ ।

अब तीन महिनाभित्रै प्रदेश प्रहरी भर्ना गर्न सूचना आह्वान गरिने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। उनका अनुसार प्रतिनिधिसभाबाट पारित विधेयकमा प्रदेशले माग गरेअनुसार ९० प्रतिशत विषय पूरा भएका छन्। केही कुरामा फरक भए पनि समग्र रूपमा यी विधेयक प्रदेशको हितमा रहेको उनले बताए।

‘प्रदेश प्रहरी प्रमुख पठाउने बेला प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने हाम्रो माग थियो। अहिलेको विधेयकमा सोझै पठाउने उल्लेख छ’, उनले भने, ‘त्यसैगरी प्रदेश प्रहरीको लोगो प्रदेश सरकारले दिने अधिकार भए पनि वर्दी संघीय सरकारले तोकेबमोजिम हुने उल्लेख छ।’ यी केही व्यवस्था फरक भए पनि प्रहरी सेवासम्बन्धी विधेयक मागबमोजिम हुँदा भर्ना प्रक्रियामा केही कठिनाइ नहुने उनले बताए।

प्रदेशसभाले लोकसेवासम्बन्धी विधेयक पनि पारित गरिसकेको छ। एक महिनाभित्रै प्रदेश लोकसेवा आयोग गठन गरी तीन महिनाभित्रै प्रदेश प्रहरी भर्ना प्रक्रिया अघि बढाइने उनले बताए। प्रदेश २ मा ३ हजार प्रहरीको आवश्यकता छ। यही आर्थिक वर्षमा १ हजार प्रहरी भर्ना गर्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित