मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

पर्यटनमन्त्री भट्टराई भन्छन् : लगानी नजुटे निजगढ विमानस्थल सरकारले आफै बनाउँछ

दैनिक नेपाल २०७६ साउन २८ गते १४:१५

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताएका हुन् ।

‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन’, उनले भने, ‘वार्षिक २०/२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।’

मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ । आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गरे ।

राजनीतिक प्रतिवद्द्ता र सरकारले आयोजनालाई महत्त्व दिएको देखाउनसमेत शिलान्यास आवश्यक रहेको उनको भनाइ छ ।

यसैबीच,  मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख काट्नुअघि वृक्षारोपण गर्ने समेत बताए ।

‘निजगढका रुख काट्नुअघि त्यसको क्षतिपूर्ति हुनेगरी वृक्षारोपण सुरु हुन्छ । म वन विनाश गर्न आएको होइन, विमानस्थल बनाउन आएको हुँ’, मन्त्री भट्टराईले भने, ‘वृक्षारोपणका विषयमा आगामी बुधबार वन मन्त्रालयसँग छलफल हुनेछ ।’

विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्नेछ । ८ हजार ४५.७९ हेक्टरका रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख छ । त्यहाँ करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बाराको कोहल्बी नगरपालिका–८ र जिपुर सिमरा उपमहानगरपालिका–१ सम्म हुनेछ । विमानस्थल दुई चरणमा बनाउने तयारी पर्यटन मन्त्रालयको छ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) मापदण्डअनुसारको रनवे, ट्याक्सी वे, टर्मिनल र एप्रोनलगायतका आवश्यक परिवहन तथा सञ्चार सुविधा भएको अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ ।

दोस्रो चरणमा आधुनिक यातायात सुविधा, पहिलो चरणमाजस्तै रनवे, ट्याक्सी वे, एयरलाइन्स सेटअप, ह्यांगर, सञ्चार, खानेपानी आपूर्ति, ढल व्यवस्थापन र होटल लजसहितको विमानस्थल विकास गरिनेछ ।

सरकारले यो विमानस्थलको पहिलो चरण सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य राखेको छ । पहिलो चरण सम्पन्न हुँदा ९२ लाख हवाई यात्रुले सुविधा पाउनेछन् । दोस्रो चरणमा निर्माण सम्पन्न हुँदा विमानस्थलको क्षमता ६ करोड यात्रु धान्ने हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित