मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

धुलाबारी ईप्रकाको हिरासतबाट दुई थुनुवा भागे, एक प्रहरी निलम्बित

दैनिक नेपाल २०७६ साउन २८ गते १२:०९

काठमाडौँ, २८ साउन । झापाको इलाका प्रहरी कार्यालय धुलाबारीस्थित प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा हिरासतको ताला फोडेर फरार भएका छन् ।

चोरी मुद्दामा पक्राउ परेका भारत दार्जिलिङ अल्छिया बजारका २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल गएराति फरार भएका हुन् । राति करिब साढे १ बजे हिरासतको ताला फोडेर उनीहरू भागेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले दुवैको खोजी कार्य जारी रहेको जनाएका छन् ।

प्रहरी निरीक्षकको दरबन्दी रहेको धुलाबारी प्रहरीको हिरासतबाट थुनुवा भागेपछि झापा प्रहरीले छानबिन थालेको छ ।

एसपी मैनालीका अनुसार घटनाको अनुसन्धानका लागि डिएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

थुनुवा फरार हुँदा ड्युटीमा रहेका एक प्रहरीलाई निलम्बन गरिएको एसपी मैनालीले बताए ।

दुई थुनुवामध्ये एक जनालाई दिउँसो भेट्न उनकी आमा गएकी थिइन् । ताला फोड्न उनले केही उपकरण छोडेर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित