
काठमाडौँ, २५ साउन । महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री लुटी फरार रहेका अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विगत केही दिनदेखि घटिरहेकाे घटनामा संलग्नलाई प्रहरीले शुक्रबार पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका २ सपनातिर्थ डेरा गरी बस्ने वुढानिलकण्ठ चपली ७ का ३९ वर्षीय टमबहादुर सुनुवार, ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने रामेछापका २४ वर्षीय टलकबहादुर रायमाझी र ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्ने भारत पश्चिम वंगाल घर भएका ३५ वर्षीय देवासिस दोलही रहेका छन् ।
पीडितबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा.२९ प ७२७६ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत अभियुक्त टमबहादुरको कोठाबाट प्रहरीले बरामद गरेको छ ।
उनीहरूले १० जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्रीहरू विभिन्न मितिमा लुटी विक्री गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
साथै लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा उक्त परिसरबाट थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका ३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्री रहेका छन् ।
ललितपुर महानगरपालिका २५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त नगद साउन २० गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी गरेको रकममध्ये नगद ८९ हजार रुपैयाँ र मोवाईल २ थान सहित खत्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
खत्रीलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।












प्रतिक्रिया