
-प्रतिक पौडेल
भैरहवा, २५ साउन । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने मुख्य सडक नदिजन्य पर्दाथ नहुँदा निर्माण कार्य नै ठप्प भएको छ ।
भैरहवा लुम्बिनी तौलिहवा सडक निर्माणको लागि अझै २ लाख घनमिटर नदिजन्य पर्दाथ आवश्यक पर्छ । समयमै नदिजन्य पर्दाथ कसैले पनि नदिँदा मनसुन लाएपछि खोला बढेको कारण अहिले निर्माण कार्य नै ठप्प हुन पुगेको छ ।
नदिजन्य पर्दाथ नहुँदा निर्माण कार्यनै प्रभावित भएपछि लक्ष्य अनुसार समयमै नसकिने देखिएको छ । आयोजनाका इन्जिनियर सागर पोखरेलका अनुसार २०१९ डिसेम्बर २२ मा सम्पन्न हुने लक्ष्य लिए पनि निर्माण कार्य प्रभावित भएकोले जुलाईमा मात्र सकिने देखिएको छ ।
भैरहवा लुम्बिनी तौलिहवा सडक निर्माणको लागी आयोजनाले रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका स्थानीय तहहरुमा नदिजन्य पर्दाथ माग गरेपनि कसैले समयमा उपलब्ध नगराउँदा असार मसान्त सम्म ६८ प्रतिशत प्रगती हुनुपर्ने आयोजनाले ४५ प्रतिशत मात्र प्रगती गरेको छ । अहिले भने कामनै ठप्प भएको छ ।
पोखरेलका अनुसार आयोजनाले माग गरेपछि २०७५ पुष ६ गते जिल्ला समन्वय समितिले ५० हजार १ सय ८१ घनमिटर उपलब्ध गराउन भनेर बुटवल उपमहानगर लाई सिफारिस गरेको थियो ।
बुटवलले चैत ३ गते ११ हजार ४ सय घनमिटर उपलब्ध गराउने सम्झौता सहित प्रति घन फुटको ६ रुपैयाँको दरले राजश्व चैत ३ र १९ गते गरी दुई चरणमा बुझेको पोखरेलले बताए । पोखरेलले सम्झौता भएर राजश्व समेत बुझिसकेपछि नदिजन्य पर्दाथ दिनुपर्नेमा उपमहानगरले १५ रुपैया घनफुट भएकोले उक्त रकम अनुशार राजश्व बुझाए मात्र दिने भनि नदिजन्य पर्दाथ नदिएको जानकारी दिए ।
यता बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले आयोजना समयमै नदिजन्य पर्दाथ लिन नआएको बताए । सुवेदीका अनुसार उपमहानगरले धरौटी फिर्ता गरिसकेको बताउँदै अब यस विषयमा आफुलाई थप केही थाहा नभएको जानकारी दिए ।
बुटवल उपमहानगरले निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सँलेग पनि ६ रुपैयाँ प्रति घनफुटमा सम्झौता गरेर पछि १५ रुपैयाँ बनाउदा विवाद भएपछि ६ रुपैयाँमै दिने निर्णय गरेको थियो ।
इन्जिनियर पोखरेलका अनुसार आयोजना र उपमहानगरबीच यस विषयमा लामो समय विवाद भएपछि उपमहानगरले नदिने भन्दै धरौटी फिर्ता गरेको हो ।
यस्तै आयोजनाले पाल्पा रैनादेवी गाउँपालिका इंगुरिया खोला बाट ३० हजार घनमिटर मागे पनि आएको थिएन भने कपिलवस्तु चनघाट र कोन्द्रे खोला बाट १ लाख ३१ हजार घनमिटर नदिजन्य पर्दाथको लागी सम्झौता भएर राजश्व बुझाए पनि २५ हजार घनमिटर मात्र आएको पोखरेलले बताए ।
आयोजनाले रुपन्देहीका विभिन्न स्थानीय तहसँग बालुवाको पनि माग गरेको छ । हालसम्म १ लाख १५ हजार घनमिटर बालुवा माग गरेकोमा १० हजार घनमिटर मात्र पाएको छ ।
कूल ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको सबै ठेक्का भारतीय निर्माण कम्पनी गाभर कन्स्ट्रक्सनले लिएको छ ।
सडकको भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३ दशमलव ६८ किलोमिटर छ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर चार लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ दशमलव ३० किलोमिटर दुई लेनको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । छ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दूई दूई लेनको सडक र दायाँबायाँ एक एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ ।
एसियाली विकास बैंक एडिबी को आर्थिक सहयोगमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत भ्याटसहित करिब रु एक अर्ब ९३ करोड रहेको छ ।












प्रतिक्रिया