शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

आउनुस् विचार बदलौँ !

शङकाले लङका जलाउँछ तर लङका मात्रै होइन शङकाले आफ्नो शक्ति जलाउँछ र अन्तत जिन्दगी नै जलाउँछ

दैनिक नेपाल २०७६ साउन २५ गते १०:५३

-एसपी उप्रेती
सारा सृष्टि विचारको उपज हो । आज हामीले संसारमा जे जे देखिरहेका छौँ । जस्ता भौतिक सामानहरुको उपयोग गरिरहेका छौँ । ति सबै हिजो अदृश्य विचार थिए कसैको मस्तिष्कको । कसैको मनको ।

त्यसकारण आज हामीले जे देखेका छैनौँ । ति अद्भूत आविष्कारहरु भोलि हुन सक्छन् । किनकी अहिलेसम्मकै केही फरक बनाउने विचार कतिको मस्तिष्कमा गाढा भएर बसेको हुनसक्छ । र जे कुरा मनमा गढेर बस्छ त्यो यथार्थमा परीणत हुन्छ । विचार भनेको कार्यको जननी हो ।

उन्नति प्रगतीको निम्ती बीउ हो । सामान्यतया विचार दुई प्रकारका हुन्छन् । सकारात्मक र नकारात्मक । जीवनमा सफलताका लागि सकारात्मक सोचको विकास कति महत्वपूर्ण छ त ?

सबैले जिन्दगीमा सफलता प्राप्त गर्न चाहन्छन् तर निकै थोरैले मात्रै सफलता हात पार्छन् । ति थोरै प्रतिशत कस्ता हुन्छन् त भन्नाले सकारात्मक सोच बोकेका । तर त्यो ठूलो जमात चैँ किन असफल हुन्छ त ? भन्दा हामी जहाँ जन्म्यौँ, हुक्र्यौँ, बढ्यौँ, पढ्याैँ, त्यो समाज परीवार, विद्यालय आदिमा हामीले के पायौँ त ? हो हामीले आफ्नो इष्टमित्रको संगत लगायत हरेक तहतप्काबाट प्राय नकारात्मक प्रवृत्ति अनुसरण गर्यौँ ।

जानेर नजानेर हामी अभ्यस्त भयाैँ नकारात्मक सोचमा । सफलताको बलियो एवम् पहिलो आधार नै सकारात्मक सोच हो । जीवनमा कुनैपनि कुरा घट्नका लागि पहिला मानसिकता तयार हुनुपर्छ ।

अर्काे शब्दमा भन्नुपर्दा असफल हुने वा सफल हुने त्यो मानिसको विचारमा वा मानिसकतामा भर पर्छ । कहलेकाँही त हामीलाई लाग्छ कि हामीसँग पक्का केही असाधारण विशेषता छ । विलक्षण प्रतिभा छ । हामीलाई लाग्छ हो मसँग अविश्वसनीय शक्ति छ । मेरो लक्ष्य प्राप्तिमा म लड्न सक्छु ।

जस्तोसुकै अवस्थामा अघि बढ्न सक्छु । तर आफ्नै वरपरबाट हामी सुन्छौँ कि यो सम्भव छैन । तिमी जे गर्ने सोच्दैछौ त्यो सक्दैनौ । याद राख्नुस् अरुले गर्न सक्दैनौ भन्दा त एक भिन्नै किसिमको जोश, जाँगर पलाउला कि गरेरै देखाउँछु भन्ने उत्प्रेरित सोच आउला ।

तर जिन्दगीमा अघि बढ्ने क्रममा सबैभन्दा बढी घातक त हामी आफैले आफैलाई शङका गर्छाैँ । हामीलाई बेलाबेलै केही गरुँ गरुँ लाग्छ तर यसो गरौँ कि उसो गरौँ कि वा कसो गरौँ भन्नेमा अलमलमै रहन्छौँ । त्यतिमात्र होइन हामी बडो हौसलाका साथ लक्ष्य प्राप्तिमा तम्सिन्छौँ ।

अनि बिजुलीको चिम बाल्न स्वीच दबाए झैँ सफल हुने आशा राख्छौँ । त्यसरी त सफलता हासिल हुदैन नि । अब त्यसैबेला देखि आफ्नो अथाह क्षमता माथि शङका गर्न थाल्छौँ । के म गर्न सकुँला र ? साँच्चै म सफल बनुँला र ? म भाग्यमानी हुँला र ? यि सबै शङकालु तथा नकारात्मक विचारहरु सानै देखि हामीले सुन्दै आयौँ ।

अझै भन्नुपर्दा हामीलाई शङका गर्न सिकाइयो त्यो पनि आफैमाथि । आफ्नै क्षमता अनि दक्षता माथि । जसको कारणले गर्दा धेरै सफलताको प्यासी मात्रै भए हकदार भएनन् । अब तपाइ हामीले चाँहि सफलताको हकदार बन्ने किसिमको सोचको विकास गर्नुपर्यो ।

हिजो हामी सुन्ने गथ्र्याैँ कि शङकाले लङका जलाउँछ तर लङका मात्रै होइन शङकाले आफ्नो शक्ति जलाउँछ र अन्तत जिन्दगी नै जलाउँछ । म गर्न सकुँला र ? जस्तो सोचाइले शक्ति दिदैन, अनि ऊर्जा नै नभएपछि हामीले के गर्ने ? आन्तरीक शक्ति प्राप्त हुन पनि हाम्रो मस्तिष्कमा सकारात्मक सोच निरन्तर भइरहनु पर्छ ।

जसरी शरीर शक्तिशाली हुन शुद्ध रगतको जरुरी छ । त्यसरी नै मष्तिष्कमा अथाह ऊर्जा उत्सर्जन हुन सकारात्मक विचारको जरुरी छ । सफल हुनको लागि हामीले गर्दै आएको कर्ममा पनि परीवर्तन आवश्यक हुनसक्छ तर त्यो भनेको दोस्रो कुरा हो । मूल विषय त विचार बदल्नु नै हो ।

दृष्टिकोण बदल्नु नै हो । मुख्य कुरा आफूलाई सकारात्मक बनाउनु नै हो । यदि एउटा हात्तीलाई कतै बाँधेर हिड्न प्रेरित गर्ने हो भने ऊ जस्तै विधिले, जति नै समय लगाएर, जतिसुकै हिँडोस् न आखिर कहाँ नै पुग्छ र ? त्यही बाँधिएको वरीपरी न हो ।

त्यसकारण हामीले जस्तोसुकै उल्लेखनीय कर्म गरेपनि यदि हामी आफ्नै सोचमा गिरेका छौँ भने कहाँ उठ्न सकिएला र ? आफ्नै सोच चैँ संकुचित छ भने पक्का माथि उठ्न सकिदैन ।

याद राख्नुस् माटोमा जस्तो बीउ छर्यो, त्यस्तै हुर्कने, बढ्ने, फूल्ने अनि फल्ने हो । त्यसकारण हाम्रो ऊर्वर मस्तिष्करुपी मलिलो माटोमा सकारात्मक सोचको बीज छरौँ जसले गर्दा सफलताको फल लाग्न सहज बनोस् । अब अबेर नगरौँ जीवनका प्रत्येक पाइलामा सकारात्मक विचार तथा दृष्टिकोणको वीजारोपण गरौँ । हाम्रो मनको भित्री तहमा म जरुर गर्न सक्छु भन्ने दृढ विश्वासको सोच विकास गरौँ ।

पहिला हाम्रो मानसिकता तयार बनाऔँ अनि त्यसैअनुरुपको कार्यमा प्रेरित बनौँ । कुनैपनि कार्यको लागि राम्रो समयको प्रतीक्षा नगरौँ बरु सुरुवात गरौँ किनकी यो नै उत्तम समय हो । आफ्नो लक्ष्य प्राप्तिमा अघि बढ्न उत्प्रेरणा मिलोस् । आजैदेखि सकारात्मक बनी लक्ष्य प्राप्तिमा अघि बढ्नुस् ।

प्रतिक्रिया
सम्बन्धित