
भैरहवा, १७ साउन । नेपाल आयल निगमद्वारा सञ्चालित भैरहवाको अञ्चलपुरमा सुविधा सम्पन्न पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ । पम्पको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले गरे ।
निगमको जग्गामा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको आफ्नै कर्मचारीहरु सङ्लग्न हुने यस पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल वितरण गर्न सक्नेछ ।
अत्याधुनिक प्रविधि जडान गरी निर्माण गरिएको यो पेट्रोल पम्म सौर्य उर्जाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ । अहिले सुरुको अवस्थामा दैनिक १६ घण्टा सेवा दिने र केही समय पछि चौबिसै घण्टा सेवा प्रदान गर्ने गरी आजबाट सञ्चालनमा ल्याएको हो ।
घामपानीबाट पेट्रोलियम उपभोक्ताहरुलाई बचाउन ९ सय वर्गमिटरको क्षेत्रफलमा भएको अग्नी प्रतिरोधक एलुमिनियम कम्पोजित मेटिरियलबाट छाना निर्माण गरिएको छ । पेट्रोल पम्प परिसर भित्रको अग्नी नियन्त्रणको लागि २ ओटा ७० किलोग्राम र ८ ओटा १० किलो क्षमताको ड्राइ केमिकल पाउडर सहितको फायर एक्टिङ्गुइसरको व्यवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री यादवले पेट्रोलियम पदार्थ भण्डारका लागि सातओटै प्रदेशमा ठूला डिपोहरु खोल्ने योजना रहेको बताउँदै पेट्रोलियम पदार्थ चुहावटका काम कोही कतै भएको जानकारी पाएमा कानुन सम्मत ढङ्गबाट कारवाही अगाडि बढाइने बताए ।
देशका लागि आवश्यक पर्ने इन्धन पुर्याउन सरकार अध्ययन अनुसार अगाडि बढ्ने बताउँदै सरकारले बिषादी परीक्षणको तयारी बिना अगाडि बढेकोले सरकार पछि हटेको मन्त्री यादवले स्वीकार गरे । ‘हामी मन्त्रीहरु कम पढेका छौँ, पढेकाले के लेखे छन्, अध्ययन नै नगरी सुरुवात गर्न पुगियो । यही कुरालाई मिडियाले आक्रमक रुपमा फैलाइदिए’ मन्त्री यादवले भने ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले रुपन्देही हरेक कुराको हब रहेको बताउँदै पेट्रोलियम पदार्थको पनि हबको रुपमा विकास गर्ने बताए । उनले भने, ‘सातओटै प्रदेशमा तेलको डिपो राख्ने सरकारको निर्णय भएकोले अहिले पहिलो चरणमा झापा र धनुषामा यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ ।’
भैरहवाको अञ्चलपुरमा सञ्चालित पेट्रोल पम्प नेपाल आयल निगमबाट सञ्चालित नेपालकै ठूलो पेट्रोल पम्प रहेको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोहितले बताए । बर्षाको समयमा समेत एकै पटक ६ ओटा गाडीमा डिजेल तथा पेट्रोल हाल्न मिल्ने आधुनिक पेट्रोल पम्म रहेको बताउँदै पेट्रोल पम्पमा गाडीमा तेल हाल्दै गर्दा अटो बिलिङ् हुने भएकोले चुहावट नहुने गोहितले बताए ।















प्रतिक्रिया