
-प्रतिक पौडेल
भैरहवा, १४ साउन। वरिपरि माछा पोखरी । माछा पोखरीको बीचमा स्विट रुम र हनिमुन रुम । रुममा पुग्न डुङ्गा चढ्नु पर्ने । पोखरीको डिलमा आउटडोर कटेज र फलफूल बगैँचा ।
यो हो–रुपन्देही सियारी गाउँपालिका-५ स्थित लुम्बिनी प्यालेस रिसोर्टको शब्ददृश्य । भैरहवा चोकदेखि करिब १८ किलोमिटर र लुम्बिनीदेखि १२ किलोमिटर दुरीमा पर्छ लुम्बिनी प्यालेस रिसोर्ट । १५ बिघा क्षेत्रफलमा रिसोर्टको भौतिक संरचना धमाधम निर्माण भइरहेको छ । जसमा एक सय करोड रुपैयाँ लगानी हुनेछ ।
लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्टमा लगानी गरिएको सञ्चालक अर्जुन भुसालले बताए । रिसोर्टमा सुविधासम्पन्न ५ सय अट्ने एउटा र १ सय अट्ने अर्को गरी २ वटा सेमिनार हल, बस्नका लागि हनिमुन, डिलक्स, स्विट र नर्मल कोठा, स्वीमिङ पुल, बाल उद्यान, फन पार्क, बार, आउटडोर र इनडोर कटेज, लगायतका सुविधा रहनेछ । शान्त, स्वच्छ र मनोरम वातावरण रहेकाले ग्राहकको आकर्षण बढ्ने उनको भनाइ छ ।
पहिलो चरणमा झण्डै ३० करोड लगानीमा आउने मंसिरमा रिसोर्ट संचालनमा आउने छ । रिसोर्टको मुख्य बिशेषता नै माछा पोखरी नै पोखरी बीचमा रिसोर्ट रहेको छ । ७ फिट गहिराई भएको पोखरीमा विभिन्न प्रजातिका माछा पालिने छन् ।
पहिलो चरणमा संचालनमा आउने रिसोर्टमा ३ बिगाहा क्षेत्रफलमा एउटै पोखरी सहित १२ बिगाहा क्षेत्रफलमा माछा पोखरी रहेको छ भने ३ बिगाहामा रिसोर्ट, स्विमिङ पुल, फन पार्क, पार्किङ लगायतका संरचना रहेका छन् । रिसोर्ट नेपालकै अत्याधुनिक लाइटिनिङ सहितको वाटर फाउन्टेनले घेरिएको हुनेछ ।
३ बिगाहामा रहेको माछा पोखरीको बीचमा बाहिरी दृष्य अवलोकन गर्न मिल्ने गरि बनेको हनिमुन र स्विट रुम हुनेछ भने करिव १ किमी रहेको २५ फुटको पोखरिको डिलमा फलफूल बगैँचा सहितको आउटडोर कटेज हुनेछ ।
रिसोर्टमा कफि सप, इनडोर कटेज, अत्याधुनिक बगैचा, स्तरिय लवि, भ्यु रेष्टुरेण्ट पनि हुनेछ भने रिसोर्टमा अर्गा्निक तरकारी, हास, कुखुरा, खसी लगायतका परिकार पाइनेछ ।
रिसोर्टका संचालनक अर्जुन भुसालका अनुसार दोस्रो चरणमा ६० करोडको लगानीमा लुम्बिनी देखिने गरि ७७ फिट अग्लो भ्युटावर र लुम्बिनीको झल्को दिने प्यालेस निर्माण गरिनेछ । रिसोर्टको वरिपरि रहेको माछा पोखरी अवलोकन गर्न घोडाको सुबिधा पनि हुनेछ ।
निर्माण सम्पन्न नहुँदै घुम्न आउनेको ताती लाग्न थालेको संचालक अर्जुन भुसालले बताए । माछा पोखरीको बीचमा रिसोर्ट हुनाले घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने उनी बताउछन् ।
पछिल्लो समय रुपन्देहीमा होटल र रिसोर्टमा लगानी थपिदै गएको छ । खासगरी लुम्बिनी आसपासको क्षेत्रमा जनघनत्व अत्याधिक बढेको छ ।
रुपन्देहीको भैरहवामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य अन्तिम चरणमा आएसंगै लुम्बिनी र भैरहवा आसपासको क्षेत्रमा लगानी सुरक्षित हुने देखेर व्यवसायीहरू पनि त्यसतर्फ आकर्षित भएका हुन् ।
“यो क्षेत्रमा होटल र रिसोर्टमा लगानी गर्नेको संख्या थपिँदै गएको छ,” सञ्चालक भुसालले भने, “जहाँ जनघनत्व बढ्छ त्यहँ स्वभाविक रूपमा यस्ता लगानी थपिदो रहेछ ।”
अनौपचारिक रूपमा रिसोर्ट सञ्चालनमा आइसकेको छ । सहरको कोलाहलपूर्ण वातावरणबाट केहीक्षण भए पनि शान्त वातावरण रिसोर्टमा मिल्ने उनको दाबी छ ।
“यो रिसोर्टलाई लुम्बिनी र आसपासका लागि नमुना नै बनाउने योजना रहेको छ,” सञ्चालक भुसालको भनाइ छ, “रिसोर्टभित्र छिर्ने बित्तिकै ग्राहकले अर्कै दुनियामा पुगेको महसुस गर्नेछन् ।”
भुसालका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकलाई रिसोर्टले कम्तीमा एकदिन भुलाउने बातावरण बनाउने छ ।















प्रतिक्रिया