
काठमाडौं, १४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध चरेशसहित एक बेलायती नागरिक पक्राउ परेका छन् ।
करिब ३ सय ४९ ग्राम चरेशसहित राहदानी नम्बर ५५४०६४३९८ वाहक बेलायती नागरिक इयान जर्ज पाउललाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थाईलायोनको उडानद्वारा काठमाडौंबाट बैंककतर्फ जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागमा लागूऔषध फेला परेको हो ।
इयानलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
यसैगरी, काठमाडौंको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्क बस्ने भारत मोतिहारी-३ रक्सौल घर भएका २५ वर्षीय भुलन भन्ने रोशन कुमार गुप्तालाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट फेनरागन २ सय ८० एम्पुल, नोर्फिन २ सय ८० एम्पुल र डाईजेपाम २ सय ८० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई पनि सोमबार नै पक्राउ गरेको हो ।
यसैगरी, ललितपुर महानगरपालिका-१३ रानीबुबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय एम्पुल, फेनारगन ९९ एम्पुल र डाईजेपाम १ सय एम्पुल सहित ललितपुर एकान्तकुना बस्ने रुकुम घर भएका २३ वर्षीय संगम बुढा र ललितपुर भैंसेपाटी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३-०२-००१ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उता सुनसरीको ईटहरी उपमहानगरपालिका-४ मनकामना टोल बस्ने २५ वर्षीय सौगात राईलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम १ सय ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।












प्रतिक्रिया