गान्तोक, १३ साउन । सिक्किम दार्जीलिङ बिलयको पक्षमा वर्तमान मुख्यमन्त्री पीएस गोले र गोर्खा राष्ट्रिय कङ्ग्रेस (गोराकं)-को विगत वर्ष २००६ देखिको सुनियोजित षड्यन्त्र रहेको र विलयको प्रमुख एजेण्ट सत्तासीन एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले रहेको एसडीएफ पार्टीले आरोप लगाएको छ ।
गोराकं-का अध्यक्ष भरत दोङ्ले पश्चिम बङ्गालको खरसाङमा आयोजित पत्रकार सम्मेलनमा जारी गरेको भीडीयोलाई हवाला दिँदै एसडीएफ पार्टीका प्रवक्ता अभिनास याखाले मुख्यमन्त्री पीएस गोले वर्ष २००६ मा सिक्किम सरकारको खेल मन्त्री हुँदा गोराकं-ले सिक्किम दार्जीलिङ विलयको प्रस्ताव उनलाई चडाएको र तत्कालीन मन्त्री गोलेले पनि विलयको प्रस्तावलाई सदनमा ल्याउँछु भन्ने वचन दिएका थिएको जानकारी दिए । उनी सरकारमा आएपछि यो प्रस्ताव सदनमा आउनसक्ने पनि आशङ्का उनले जनाएका छन् ।
इन्दिरा बाइपासस्थित एसडीएफ भवनको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता याखाले उक्त कुरा बताएका हुन् ।
उनले सिक्किम दार्जीलिङ बिलय जस्तो गम्भीर कुराहरूलाई पनि कपडाले छोपेर एसकेएम पार्टी र सरकारले जनतालाई अन्य मुद्दामा अल्मलाउने काम गरिरहेको पनि आरोप लगाएका छन् ।
प्रवक्ता याखाले भनेका छन्, ‘एसकेएम सरकार गठनपछि नै अचानक गोराकं-का अध्यक्ष भरत दोङले प्रेस सम्मेलन आयोजन गरी सिक्किम दार्जीलिङ विषयमा सिक्किमका वर्तमान मुख्यमन्त्री पीएस गोलेको सकारात्मक प्रत्युत्तर छ भन्नु । सिक्किम दार्जीलिङ विलयका पक्षधर डा. महेन्द्र पी. लामालाई सिक्किम सरकारको आर्थिक सल्लाहकारकोरूपमा नियुक्त गर्नु र भरत दोङले पनि मुख्यमन्त्रीलाई विलय विषयमा मेमोरेण्डम ल्याएर चडाउनुले नै मुख्यमन्त्री गोले सिक्किम दार्जीलिङ विलयका पक्षधर हुन् ।’
गान्तोकदेखि सिलगडीसम्मको राजनीतिक हलोजोताइले वर्तमान मुख्यमन्त्री नै विलयको मुख्य एजेण्ट हुन् भन्ने प्रष्ट भएको प्रवक्ता बताउँछन् ।
सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई प्रयोग गरेर केन्द्रको व्यवस्था पनि सिक्किम दार्जीलिङ विलयको पक्षमा सधैं खडा रहेको बताएका छन् ।
केन्द्रमा राष्ट्रपति, प्रधानमन्त्री फेरिए पनि त्यहाँको व्यवस्थालाई चलाउने शक्तिएउटै भएको कारण उनीहरूको मकसद नै सिक्किम दार्जीलिङ विलयको पक्षमा हुने पनि प्रवक्ता याखाले बताए ।
प्रवक्ता याखाको आरोप छ की, डा. महेन्द्र पी. लामाको केही समय अघि धारावाहिक रूपमा प्रकाशित लेखहरूले प्रष्ट गरेको थियो की उनी सिक्किम दार्जीलिङ विलयका पक्षधर हुन भने ।
उनले एक लेखमा उल्लेख गरे अनुसार दार्जीलिङको स्थायी समाधान नै सिक्किम दार्जीलिङ विलय हो भनेर प्रष्ट लेखेको छ। एसकेएम पार्टीको चुनाउ चिन्ह र एसकेएम पार्टी पञ्जिकरण गराउने पनि महेन्द्र पी लामा नै हुन् ।
















प्रतिक्रिया