लिस्बन । पोर्चुगिज भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यति बेला कखरा सिक्न तल्लीन छिन् ।
लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदिक्षा भर्खरै ७ वर्षकी भइन् । बिदेशमै जन्मेकी र बिदेशी भूमिमै हुर्केकी सदिक्षाले नेपाली भाषा बोल्न सक्ने भएपनि लेख्न भने सक्दिनन् ।
तर पोर्चुगिज भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञ सम्म लेख्न समेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने उनलाई सजिलैसंग नेपाली पनि लेख्ने रहर छ ।
सरकारी बिद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन् । नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ ।
नेपाली भाषा कतिको आउँछ त भन्ने प्रश्नमा सदीक्षाले अंग्रेजी र पोचुगिजभन्दा धेरै कम आउने प्रतिक्रिया दिइन् । नेपालीभन्दा अँग्रेजी र पोर्चुगिज सजिलो लाग्ने उनको भनाई थियो । हालसम्म नेपाल नदेखेकी उनले छिट्टै नेपाल जाने समेत बताइन् ।
चितवनका सोहन सापकोटा र पोखराका रस्मित कुंवरको पनि उस्तै समस्या छ । उनीहरू पनि सरकारी बिद्यालयमा अध्ययन गरिरहेका छन् । १० वर्षका सोहन कक्षा ४ मा पढ्दै छन् । भने ११ वर्षीय रस्मित भर्खरै कक्षा ५ मा भर्ना भएका छन् ।
सोहन र रस्मितलाई पनि सदीक्षालाई जस्तै पोर्चुगिज भाषा खरर बोल्न र लेख्न आउंछ । तर नेपाली भाषा बोल्न सक्ने भएपनि लेख्न भने उनीहरु दुबैलाई समस्या छ । घरमा बोल्ने भाषा नेपाली भएका कारण उनीहरु नेपाली बोल्न सक्ने भएपनि यहांको स्थानीय बिद्यालयमा लेख्ने र पढ्ने भाषा पोर्चुगिज नै भएका कारण पनि उनीहरुलाई नेपाली भाषामा समस्या भएको हो ।
सदिक्षा, सोहन र रस्मित जस्तै पोर्चुगलमा जन्मेका र हुर्केका अधिकाँश नेपाली बालबालिकाहरुमा यो समस्या सामान्य जस्तै छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकाहरुमा देखिएका यस्ता समस्यालाई मध्येजनर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ ।
समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बन स्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा ५ बर्ष माथीका र १२ बर्ष मूनिका २५ नेपाली बालबालिकाहरुलाई कखरा सिकाईदै छ ।
पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकाहरुले पोर्चुगिज भाषा लेख्न र बोल्न सक्ने तर नेपाली भाषामा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका बिषयमा अध्यापन गराउने उद्धेश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले राससलाई जानकारी दिए ।
दुई जना नेपाली शिक्षिका मार्फत् साताको ३ दिन नेपालीभाषा सम्बन्धी आधारभूत, सैद्धान्तिक, ब्यबहारिक र नेपाली सँस्कृति सम्बन्धी अध्यापन गराउने ब्यबस्था मिलाईएको अध्यक्ष राईले बताए । राईका अनुसार पोर्चुगलको स्थानिय बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको बार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निशुल्क रुपमा कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप ब्यबस्थित ढँगबाट सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
पाठशालामा बालबालिकाहरुलाई साताको दुई दिन सोमबार र मंगलबार नेपाली भाषा सम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका बिद्या आचार्यले बताइन् । उनीहरुलाई कखरा देखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपाल सम्बन्धी जानकारी, बाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाईएको छ ।
नेपाल रहँदा डेढ दशक बढी अध्यापन पेशामा सकृय रहेकी आचार्यले बिदेशी भूमिमा नेपाली बालबालिकाहरुलाई अध्यापन गराउन पाउंदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिइन । अधिकांश बालबालिकाहरू पोर्चुजिग बोल्न र लेख्न सक्ने भएपनि नेपाली भाषामा भने समस्या रहेको उनले बताएन् । आचार्यका अनुसार पाठशालामा बालबालिकाहरु नियमित जस्तै आउंछन् । उनीहरु नेपाली सिक्न उत्साहीत छन् ।
पाठशालामा साताको एक दिन सिर्जनशील र अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ ।
आफ्ना बालबालिकाहरुमा नेपाली भाषामा सास्या देखिएपछि चिन्तीत बनेका अभिभावकहरुलाई नारी समाजको यो अभियानले केही राहत मिलेको यहांका अभिभावहरुको प्रतिक्रिया छ । बिदेशी भूमिमा हुर्केका आफ्ना बालबालिकाले नेपाली भाषा नभूलुन् र नबिर्सीउन् भन्ने उनिहरुको चाहना छ । तर बालबालिकाहरु बिद्यालयमा पनि पोर्चुगिज भाषा बोल्ने र साथीसंगीहरु पनि पोर्चुगिज हुने भएका कारण पनि नेपाली भाषामा समस्या देखिएको अभिभावकहरुको बुझाई छ ।
















प्रतिक्रिया