शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

सीमाभित्रको नेपाल मात्रै हो त हाम्रो राष्ट्र ?

डिल्ली अम्माई २०७६ साउन १२ गते ९:०१

डिल्ली अम्माई

कबिला राज्यको पालामा उनीहरूका मुखियाले चर्चेको भूभाग नै कालान्तरमा प्रशासकीय गण इकाईको रूपमा विकास भए । मानिस एकै थलोमा बस्न थालेदेखि नै उनीहरूले आफ्नो प्रभाव क्षेत्रको शान्ति–सुरक्षाको लागि बैदिक नीति–नियमहरू बनाएको वृतान्त पुराणहरूमा पाइन्छ । आफ्नो त्यही टेरिटोरी कालान्तरमा कबिला राज्यमा विकास हुन थाल्यो । जनसंख्याको विस्तारसँगै ती प्रशासकीय इकाईहरूको क्षेत्र बिस्तार हुदै गयो । त्यो बेला आफ्ना गण इकाईहरू विस्तार गर्ने क्रममा एक इकाईले अर्कोसँग युद्ध गर्न थाल्यो । कमजोर पक्ष बलियो पक्षको अधिनमा बस्न बाध्य बनाइयो । अन्ततः कबिला राज्यले देशको रुप लियो र बलियो गणराज्यको मुखियाले राजा वा सम्राटको रूपमा आफुलाई रुपान्तरण गरेको वृतान्त इतिहासमा पाइन्छ ।

प्रकृतिले संयुक्त उपभोगको लागि उपलब्ध गराएको भूभाग कालान्तरमा विकास भएको मानव सोचले विभक्त गरायो । त्यही बेलादेखि जमिनको भागबण्डाको लागि महायुद्धहरू हुँदै आएको सत्यलाई नकार्न सकिँदैन । त्यसैले देश, राज्य, राष्ट्र, राष्ट्रियता मानव निर्मित सुरक्षाभाव, युद्ध उन्माद, शक्तिको होड,कब्जा र नियन्त्रणका परिणाम नै हुन् भन्न सकिन्छ ।

ब्युत्पत्ति :

पुरानो संस्कृत परिभाषा अनुसार ‘राज्’ धातुबाट ‘ष्ट्रन्’ सूत्रले जोडिएर राष्ट्र शब्द बन्दछ । वैदिक वाङ्मयमा देश, जनपद, भूमि आदि शब्दलाई मुलुकको पर्यायवाची शब्दका रुपमा प्रयोग गरिएको पाइन्छ । यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुशाशित देश नै राष्ट्रका रुपमा परिभाषित गरिएको हो । सामान्यतया राष्ट्र भन्नाले जनसमुदायसहितको थलो वा देशलाई बुझिन्छ । यसरि हेर्दा व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरूको आधारशिला राष्ट्र हो भन्ने बुझिन्छ ।

त्यस्तै पश्चिमा सभ्यताले विकास गरेको शब्द ब्युत्पत्ति अनुशार अङ्ग्रेजी शब्द ‘नेसन’को ब्युत्पत्ति ‘लेटिन’ भाषाको ‘एनएटिआईओ’ शब्दबाट भएको हो, जसको अर्थ ‘जन्मको आधारमा’ वा ‘कुन जराबाट पलाएको हो’ भन्ने हुन्छ । विभिन्न शब्दकोषहरूले अर्थ्याए अनुशार – ‘कुनै जनसमुदायले भूमिसँगको पुर्ख्यौली सम्बन्ध, भाषा–धर्म, इतिहास, सांस्कृतिक जीवन–दृष्टि (दर्शन) आदिका आधारमा अन्य समुदायभन्दा आफ्नो समूहलाई फरक मान्छन् भने त्यो समुदाय एउटा राष्ट्र हो ।

‘राष्ट्र’मा भाषिक, धार्मिक, जातीय, पुर्ख्यौली परम्परा र समुदायहरूको इतिहासका विभिन्न विरासतहरूको सांस्कृतिक सार समाहित हुन्छ ।

राष्ट्रिय एकता, जनता वा जातीय एकताले राष्ट्रियता बन्दछ । राष्ट्रियतासँग अभिन्न रूपमा जोडिएको अर्को पाटो राष्ट्रिय स्वाधीनता, जहाँको हरेक जाति वा जनता आन्तरिक सीमाभित्र संस्थागत, सुरक्षित र स्वतन्त्र हुन्छ । जनता, राष्ट्र वा जाति बन्नका लागि ऊसँग स्वतन्त्र भाषा, संस्कृति, भेषभुषा र ओगटेको सघन भूगोल हुनु पर्दछ । तिनै भाषा, भेषभूषा, संस्कृति र जोडिएको भूगोल, प्राकृतिक स्रोत साधनमाथिको अधिकार, स्वायत्तता तथा स्वतन्त्रताले मात्र राष्ट्रिय स्वाधीनता हासिल गर्दछ वा बन्दछ । राष्ट्रियता भनेको पहिचान हो, पहिचान सामूहिक भूगोलसहितको हुन्छ भने अर्को व्यक्तिगत पनि हुन्छ । व्यक्तिगत पहिचान भनेको उसको आर्थिक वर्ग,पेशामा आधारित आदि हुन्छ । जस्तै साहुजी, महादनजी,जमिन्दारजी,सामान्तजी आदि।

तर सामुहिक पहिचान भूमिको विविधता सहित सांस्कृतिक, भाषिक, भेषभूषा र भौगोलिक संरचना अनुसार हुन्छ । जस्तो जनजाति, मगर, बाहुन, क्षेत्री, यादव, थारु, पहाड, मधेश,गैह्रे, डाँडाघरे आदि सामूहिक र त्यसले ओगटेको भूगोलसँग सम्बन्धित हुन्छ । तर त्यही व्यक्ति शिक्षक, पदाधिकारी, किसान आदि उसका पेशा अनुसारका व्यक्तिगत पहिचानहरू हुन्छन् । लैंगिक पहिचान सार्वभौम हो । त्यसै ‘पहिचान र अस्तित्व विन्यासका लागि राष्ट्रियताको पहिचान आवश्यकता हुन्छ, जसले मात्र राष्ट्रिय राज्य निर्माण गर्दछ ।’ (कृष्ण गुरुङ)

स्वाधीन युगदेखि अहिलेसम्मको अवस्थामा भन्नुपर्दा राष्ट्रियता भनेको सामूहिक स्वत्वसँग जोडिएको अहम् हो । हामीले महाकाली र मेचीबीचका कयौँ मानिसलाई देखेका हुँदैनौँ तर नेपाली भनेर अपनत्व अनुभूति गर्छौं । नेपालको भूभागलाई आफ्नो भन्दै प्रेमभाव दर्शाउँछौँ । अनि नेपाल र नेपालीका लागि ज्यान दिन र अरु कसैको ज्यान लिन तयार हुन्छौँ । अन्य राष्ट्रका नागरिक पनि यसै भावनाबाट प्रेरित हुने गर्दछन् । यही हो राष्ट्रियताको भावना ।

बेनेडिक एन्डरसन नदेखी पोखिने स्नेह वा भातृत्वलाई आत्मिय तर काल्पनिक समुदाय भन्छन् । राष्ट्रियता मानिसको दिमागमा सीमाबद्ध, सार्वभौम र आत्मीय समुदाय प्रतिको झुकाबको रुपमा सिर्जना हुन्छ । फिजी,म्यान्मार, थाइल्याण्ड,भारत,भुटान लगायत प्रवासमा बस्ने नेपाली भन्ने वित्तिकै हामीमा अथाह प्रेमभाव जागृत हुन्छ । त्यही हो हाम्रो सीमारहित राष्ट्रियताको स्वत्वसँग जोडिएको अहम् ।

राष्ट्र कहिले माथि (नेतृत्व)बाट त कहिले तल (जनता)बाट बन्छ । जर्मनी विस्मार्कको नेतृत्वमा माथिबाट गठन भएको थियो भने इटाली गैरिवाल्डीको नेतृत्वमा तलबाट चलेको संघर्षद्वारा निर्माण भयो । त्यस्तै जर्जिया, चेचेनिया, बेलारुस लगायत राज्यहरू तलबाट बने तर सोभियत संघ माथिबाट बन्यो ।

हामीले इतिहास पल्टायौँ भने थाहा हुन्छ, राष्ट्र/राज्य र राजनीतिका इतिहास क्रुरताले भरिएका छन् । राज्य निर्माणको सभ्य दृष्टान्त खासै पाइन्न । युद्ध, छलकपट, जितको अहंकार र हारका पीडा सँगसँगै राज्य बने । सार्वभौम भनिएको भूमि सट्टापट्टा भएका छन्, इजरायल र सिक्किममा जस्तै किनबेच भएका छन् । त्यसैले अन्तर्राष्ट्रियतावादीहरूको यो आरोप छ कि ‘फगत अरूमाथि शासन गर्नका लागि बाहेक यसको प्रयोग र प्रयोजन नै छैन । त्यसैले मेरो देश भन्ने भ्रामक अवधारणा हो ।’

त्यस्तै, मार्क्सवादीहरूले राष्ट्रवादलाई वर्गसंघर्षभन्दा माथि राख्ने कार्यलाई गलत मान्दछन। राज्यको संघमा र संघको महासंघमा रुपान्तरण गर्दै लैजाने सोच राख्छन् समाजवादीहरू । लेनिनले भनेका छन्, ‘मार्क्सवादलाई राष्ट्रवादसँग गाँस्न सकिँदैन, चाहे त्यो राष्ट्रवाद सबभन्दा सही, पवित्र, परिमार्जित र सभ्य प्रकारकै किन नहोस् ।’ उनीहरूको बिस्वास छ कि ‘मानवता सहितको अंतराष्ट्रबादी सोचले क्रमशः सबै प्रकारका राष्ट्रियता विलय गर्ने छ । अबका समाजशास्त्रीहरुको सोच विस्तारै मानव मात्र नभएर प्राणी जगत र प्रकृति रक्षामा सङ्क्रमित हुँदैछ । उनीहरु वैज्ञानिक प्रकारको विभेदरहित सामुहिक संस्कृतिलाई संष्लेषण गरिएको समतावादी समाज सुदुर भविष्यमा उदय हुने सम्भावनालाई नकार्दैनन । उनीहरुका अनुसार सोही अनुरुपको संस्कृति क्रमशः निर्माण हुँदै जान्छ र पुरानो सोचले नयाँमा छलाङ्ग मार्दछ ।’

विगतदेखि अहिलेसम्म राज्यहरू कसरी बने ?

यस सन्दर्भमा कुरा गर्दा,कुनै पनि राष्ट्रको निर्माणमा असीमित रगतको खोला बगेको इतिहास हाम्रो सामु साक्षी छ । नेपाल राज्यको निर्माण क्रममा कति रगत बगे होला हामी केवल कल्पना गर्न सक्छौँ । देश बलपुर्वक बनेको छ भने त्यो समयक्रममा विघटन पनि हुन्छ । यदि आवश्यकता अनुसार बनेको हो भने त्यो अझै बृहद पनि हुन सक्छ । राष्ट्र राज्यमा, राज्य संघमा र संघ महासंघमा रुपान्तरण हुँदै जाने प्रक्रियालाई मानब चेतनाको स्तरले निर्देशि गर्दछ । त्यतिबेलाको चेतनाको स्तर अनुकुल नयाँ सभ्यता, नयाँ संस्कार र नयाँ संस्कृतिको निर्माण हुने तर्कलाई अहिलेसम्म कसैले खण्डन गर्न सकेको छैन । सोभियत संघ, युरोपियन संघ लगायत अन्य क्षेत्रीय संघहरू र अन्तमा संयुक्त राष्ट्र संघ त्यही प्रक्रियाका भ्रुण हुन पनि सक्छन ।

अचेल पत्रपत्रिका र सामुहिक, राजनीतिक तथा साहित्यिक वृत्तमा राष्ट्र, राष्ट्रियता, राज्य र देश सम्बन्धी हचुवा र काल्पनिक बहस चलेको देख्दा अचम्म लाग्छ । राष्ट्र, राष्ट्रियता, राज्य र देश जस्तो गहन विषयमा चर्चा गर्न र लेख्न यसको विविध ऐतिहासिक विकासक्रमलाई बुझ्नु आवश्यक हुन्छ । विगतदेखि अहिलेसम्म राज्यहरू कसरी बने भन्ने कुरा नबुझेसम्म राज्यको स्थायित्वबारे बहस गर्न गाह्रो पर्छ र देश, राज्य र राष्ट्रको फरक छुट्याउन त झनै मुस्किल हुन्छ ।

आधुनिक तात्पर्यमा देश र राष्ट्र भन्नाले उस्तै कुरा बुझिने भए पनि राष्ट्र र राज्यको अवधारणा चाहिँ अलिक भिन्न छ । अहिले एउटा ‘राष्ट्र’भित्र अनेकौँ ‘राज्य’ हुन सक्छन् भन्ने बुझ्नु जरुरी छ । तर वैदिक अवधारणामा चाहिँ राष्ट्र र राज्यबीच कुनै भिन्नता रहेको पाइँदैन । वैदिक राष्ट्रहरू आधुनिक गणराज्य जस्तै हुन्, त्यो बेला राजा वा राष्ट्रप्रमुख कतिपय अबस्थामा जनताद्वारा चुनिन्थे अथवा सक्तिको भरमा स्थापित हुन्थे ।

‘राष्ट्र’ बन्नका लागि त्यहाँ बस्ने जनताको भाषा, धर्म, इतिहास, संस्कृति, नैतिक आचार वा मूल उद्गममध्ये केही कुरा मिल्नुपर्छ । यही साझा मिलनबिन्दुले उनीहरूलाई आपसमा जोडेर राख्छ र उनीहरू एउटै राष्ट्रका नागरिक बन्छन् । यसरी ‘राष्ट्र’लाई बुझिने गरी एउटा त्यस्तो जनसमूहका रुपमा परिभाषित गर्न सकिन्छ, जो निश्चित क्षेत्रीय सीमाभित्रको एउटै भूगोलमा बस्छ, समान परम्परा, समान हित र समान भावनाले बाँधिएको हुन्छ । जसमा एकताबद्ध हुने उत्सुकता एवं समान राजनीतिक महत्वाकांक्षा समेत जरुरी हुन्छ ।

राष्ट्र र राष्ट्रियता :

राष्ट्रियता भनेको एक विश्वास वा भावना हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको भावनात्मक लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरू एकजुट हुन पुग्छन् । वस्तुतः राष्ट्रप्रतिको अपनत्व र प्रेमको शाब्दिक रुप नै राष्ट्रवाद हो । परस्परमा अनेकौँ समानताहरू भए पनि राष्ट्रियता र देशभक्तिबीच केही भिन्नताहरू छन् । राष्ट्रियता राष्ट्रवासी बीचको कुनै कार्यक्रम वा योजनासँग गाँसिएको हुन्छ भने देशभक्ति वैयक्तिक अनुभूति वा उत्तेजनामा निहित रहन्छ । त्यो उत्तेजनाले आवश्यकता पर्दा राष्ट्रको लागि आफूलाई उत्सर्गित समेत गर्दछ । भावना र त्यागको माध्यामबाट देशभक्ति जन्मिन्छ । देशभक्तिले राष्ट्रियतालाई बढाउँछ ।

विभिन्न देशमा बाध्यताले बसिरहेका नेपालीहरूको भावना यहीँनेर जोडिन आइपुग्छ । त्यो मिलनबिन्दुले नै उनीहरूलाई उठाएर आफ्नो पुर्खाको थातथलो खोज्दै समीपमा बस्न आकर्षित गर्छ । हामीले एनआरएनलाई (चाहे ती फिजीका हुन् या अन्यत्रका) यहीँनेर जोड्न सक्नुपर्छ । आफ्नो भूगोलमा स्थायी बसोबास गरेका नेपालीहरूलाई के–केसरी राष्ट्रियतासंग जोड्न सकिन्छ ? यो एनआरएनहरूको पहिलो तथा नगरी नहुने कर्म हो ।

यहीँनेर हाम्रो बहस केन्द्रित हुनुपर्ने हो । तर अहिलेसम्म यो बहस गैह्र आबासिय नेपाली संघको नेतृत्वहरूले गहन रुपमा चलाउनु पर्ने देखिन्छ । चर्चा हुदै नभएको हैन। तर चर्चा गर्नु र बहस चलाएर निचोडमा पुगी कामको आरम्भ गर्नु फरक कुरा हुन् भन्ने कुरा हामीहरुले बुझ्नु जरुरी छ । भारतको एनआरआइले विश्वभर छरिएका भारतीयहरूलाई बीसौँ वर्षको अभियान चलाएर आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोडीसकेको छ ।

विश्वको जुन कुनामा रहेपनि राष्ट्रियताको भावनाले ओतप्रोत व्यक्ति आफ्नो र राष्ट्रको एकसाथ उन्नतिको कामना गर्छ । राष्ट्रियताकै भावनाबाट राष्ट्रवाद विकसित हुन्छ, । राष्ट्रवाद जनसमूहमा विद्यमान एकताको नाम हो, जसले समुदायलाई सँगै बस्न र बाहिरी आक्रमणको सामूहिक प्रतिरोध गर्न प्रेरित गर्छ । सदस्यहरूमा आत्मीयता, सहचर्य, सहयोग र समझदारी राष्ट्रको प्रमुख लक्षण हो । राष्ट्रको सवलताको रक्षाका लागि नागरिकहरूमा अदम्य साहस, अटुट देशप्रेम र आत्मोत्सर्ग आदि गुणहरूको आवश्यकता हुन्छ ।

संस्कृति :

संस्कृति, भेषभूषा, रहनसहन, धर्म, भाषा, साहित्य, कला, दर्शन, खानपान, वास्तुशैली आदिका माध्यमले प्रकट हुने कुनै जाति सम्प्रदाय विशेषको पहिचान हो । हाम्रा ज्ञान, कर्म र रचनालाई भावी संस्कृतिको रुपमा रुपान्तरणका निमित्त पुस्ता हस्तान्तरण गर्नु आवश्यक छ । धर्म र नीतिको उदात्त प्रेरणा, चलन तथा सभ्यताले जन्माएको बौद्धिक विरासतलाई नै संस्कृति भनिन्छ । दर्शन, धर्म, साहित्य, चालचलन, जीवन र कलाका क्षेत्रमा मान्छेले गरेका समस्त सु –कृति नै उसको संस्कृति हो । भौतिक अलंकारले र आध्यात्मिक चिन्तनले मात्रै संस्कृति निर्मित हुँदैन । जसरी पाँच तत्व मिसाएर पञ्चामृत बनाइन्छ त्यसरी नै अनेक भौतिक, सनातन, आध्यात्मिक, नैतिक, मिथक, साहित्य, दर्शन, कर्म, पैत्रिक सम्पदा, चालचलन, सँस्कार तत्वको योग नै संस्कृति हो ।

नामले हैन, पहिचानले राष्ट्र समेट्छ :

कुनै पनि देशको नामले उसले ओगटेको भूगोलको चारै किल्ला समेट्नु जरुरी छैन र त्यस्तो प्रायः पाइँदैन पनि । केही प्रतिनिधि उदाहरण हेरौं । संयुक्त अधिराज्य बेलायत जसको औपचारिक नाम हो ‘युनाइटेड किङ्डम अफ ब्रिटेन एन्ड नर्दन आयरल्यान्ड’ । यो नामले ब्रिटिस र आइरिस जातिको मात्र प्रतिनिधित्व गर्छ, स्कटल्यान्ड र वेल्सलाई प्रतिनिधित्व गर्दैन । त्यहाँ संविधान नामको कुनै सिङ्गो लिखत पनि छैन जसले उसको क्षेत्र र रूपको परिभाषालाई परिभाषित गरोस् ।

संयुक्त राज्य अमेरिकाको साँध–सीमाना अमेरिकी गोलार्द्ध भन्दा बाहिरसम्म पुगेको छ । त्यहाँको भूगोल संस्कृतिसँग कुनै साइनो नराख्ने हवाई टापु संयुक्त राज्य अमेरिकाको सबैभन्दा कान्छो अर्थात् पचासौँ राज्य (प्रान्त) हो । चीन पनि आजको समग्र चीनको भूभागलाई प्रतिनिधित्व गर्ने न नाम हो, न सभ्यता । भारत ‘भरत’ राजाका नामबाट बन्यो । ‘हिन्दुस्तान’ वा ‘इन्डिया’ पनि सिन्धु वा इन्डज् नदीबाट तानिएको हो, जसको मुख्य धार अहिले पाकिस्तानमा पर्छ । पाकिस्तानको नामकरणको प्रसङ्ग भने बेग्लै छ । छुट्टै देश स्थापनाको आन्दोलनमा सक्रिय एउटा विद्यार्थीको पर्चाबाट जन्मिएको नाम हो यो । सन् १९३३ अघि यो नामको कतै अस्तित्व नै थिएन । यो शब्दमा पर्ने अंग्रेजीको अक्षर ‘ए’ले अफगानी जाति र भूमिलाई जनाउँछ जुन पाकिस्तानभन्दा भिन्न स्वतन्त्र एवं सार्वभौम मुलुक हो । तथापि अहिले अस्तित्वमा भएका देशमध्ये पाकिस्तान सर्वाधिक रूपमा आफ्नो प्रमुख भूभाग (पन्जाब, सिन्ध, कस्मीर, बलुचिस्तान) को संयोजनबाट बनेको बताउँछ ।

देशको नाम र नक्सा नमिलेका अरू धेरै उदाहरण छन् । देशका नामले त्यो देशको सभ्यता, संस्कृति र राष्ट्रियता समेट्नुपर्छ भन्ने प्रायः देखिँदैन । जुन बेला जे नाम दियो, स्थापित भयो, त्यो त्यही नाम प्रख्यात बन्यो र दिइएको नामले नयाँ परिभाषालाई जन्म दिन बाध्य पाऱ्यो ।

अर्को तर्फ़,कुनै पनि देशको नाम विशेषले मात्र त्यहाँको समग्र भूगोल, आवादी, सभ्यताको परिचय वा पहिचान दिँदैन । नामको जातीय सांस्कृतिक सापेक्षता हुन्छ । तसर्थ प्रयुक्त अक्षर वा नामले दिने समावेशिता आंशिक हुन्छ । राष्ट्र/राज्यको इतिहास र यथार्थ एकाकार गर्न निकै कठिन छ । मान्छेको नामजस्तै हो यो पनि । थुप्रै धनबहादुरहरू गरिबी र विपन्नतामा बाँचिराखेका छन् । वीरबहादुरहरू दासत्वमा बाँधिएर मालिकको सेवा गरिरहेका छन् । जस्तो कुनै मान्छेको नामले उसको शरीरका समग्र अङ्गप्रत्यङ्ग, मन वा मस्तिष्कको प्रतिनिधित्व गर्दैन, त्यस्तै देशको नाम शब्दले सबैको प्रतिनिधित्व गर्दैन ।

हाम्रै देशको इतिहास हेर्दा त्यस्तो देखिँदैन । जुन बेला पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई भौगोलिक विस्तार गरेका थिए, त्यतिबेला नेवार बस्ती भएको उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो । नेवारहरूले बोल्ने भाषालाई नेपाल भाषा भनिन्थ्यो । गोर्खालीले बोल्ने भाषालाई खस भाषा नै भनिन्थ्यो । सन् १८८७ मा दार्जिलिङमा बस्ने अंग्रेज रिभरेन्ड टर्नबुलले पहिलो पटक खसभाषालाई ‘नेपाली भाषा’ र गोर्खा राज्यको सट्टा ‘नेपाल’ भन्ने शब्द प्रयोग गरेका थिए । त्यसै कुरालाई भारतमा रहेका ब्रिटिश शासकले मान्यता दिँदै यहाँको राजालाई ‘नेपालका राजा’ भन्न थाले । सन् १८३० भन्दा अगाडि नेपालका शासक आफूलाई गोर्खाको राजा भनेर चिनाउँथे । यो कुरालाई लिएर चन्द्र शमशेरले आपत्ति पनि जनाएका थिए । पछि यही नाम दोस्रो विश्वयुद्धपछि कायम भयो । सुगौली सन्धीपछि नेपालको नक्सासमेत ब्रिटिशहरूले नै बनाइदिएका हुन् । यथार्थ तर पिरो कुरा यत्ति हो ।

इतिहास, वर्तमान र भविष्य :

इतिहास एकै ठाउँमा कहिल्यै रोकिन्न, रोकिएको पनि छैन । वर्तमान र भविष्यको कुरा पनि त्यही हो । राज्य, राष्ट्र, देश र राष्ट्रियता सबैका परिभाषाहरू फेरिन्छन् । सोच्ने तरिकाहरूको भिन्नता, रुपान्तरणको क्रमिक प्रक्रियाले अहिलेका कुरा सुदुर भविष्यमा जस्ताको तस्तै रहलान् भनेर अनुमान गर्न सकिँदैन ।

वैज्ञानिक युगको उत्तरार्धमा सीमा रहित नागरिक समाज र त्यसको बैज्ञानिक व्यवस्थापन एउटा विकल्प हुन सक्छ तर यसले अझै संगतिपूर्ण कल्पनाको रूप पनि लिन सकेको छैन । यो अहिलेको लागि फगत कल्पना हो र भविष्यमा त्यो बहसलाई समाजसास्त्रीहरूले क्रमश अगाडी बढाउदै लैजाने छन् ।

यथार्थ कुरा यो पनि हो कि,मान्छे कुनै देश वा जाति रोजेर जन्मेको हुँदैन । यी त जन्मेपछिको सापेक्षिक अपनत्वका कुरा हुन् । हिजो के भयो, त्यो इतिहास भइसक्यो । इतिहासको उत्खनन सत्यतथ्य जान्नका लागि उपयोगी हुन्छ तर त्यो नै समाधान भने होइन । समाधान तत् समयको उपयुक्त निरुपण हो । भोलिको भविष्यले पक्कै पनि अरु कुनै नयाँ कुराको, आविष्कारको साथै नयाँ युगको माग गर्ने छ । त्यो बेला देशको सिमाभित्र राष्ट्रियता अल्मलिएर नबस्न पनि सक्छ । समय गतिशील छ र भोलिको संसार कस्तो हुन्छ अहिल्यै अनुमान गर्न सजिलो छैन ।

अहिले नेपाली नै १८२ राष्ट्रमा पुगिसके । केही वर्षमा त्यो ठाउँमा स्थायी बसोबास गर्न थाल्ने छन् (कतिपय देशमा ४–५ पुस्ता भैसक्यो भने कतिपय देशमा केही दशक मात्र भएको छ) र गृहयुद्ध वा त्यस्तै अन्य असहजतामा आफ्नो राष्ट्र खोज्ने दिन नआउला भन्न सकिन्न । बर्मा र मेघालयका नेपालीहरूले त्यो समस्या भोगीसकेका छन् । यदि समय अनुकुल नै रह्यो भने समयक्रमसँगै अन्तरदेशीय पहिचानको अन्तरघुलनले नयाँ पहिचानको जन्म दिने पक्का छ । त्यसले अघिल्लो अवस्था क्रमशः कमजोर र पछिल्लो अवस्था क्रमशः बलियो बनाउदै लैजाने छ ।

सुगौली सन्धि पछाडी नेपालको नक्सा फेरिए जस्तै नक्सा क्रमश साँघुरिँदै जान पनि सक्छ । सुन्दा तितो लागेपनि भन्ने पर्ने हुन्छ कुनै दिन नेपाल देश मेटिन पनि सक्छ तर राष्ट्रियता समुदायको मनभित्र सदैव जीवित रहन्छ । देशहरू सदैव जीवित रहन सक्छन्् भन्नु कल्पना मात्र हो ।

भूगोलसँग नेपाली जोडिने देश रहुन्जेल मात्र हो, देश मेटिएपछि जोडिने आफ्नो समुदायसँग हो । त्यो समुदाय नै त्योबेला अदृश्य राष्ट्र बन्दछ जुन भावनामा मात्र सीमाङ्कित हुन्छ । हामी एनआरएनहरूले यो कुरा महशुस गर्न थालिसकेका छौँ । हामी सीमारहित देशमा फिजीका नेपाली मात्र हैन हाम्रो पहिचानसँग सम्बन्धित संसारको कुनाकुनामा बाध्यताले च्यापिएर बसेका सबै ज्ञात–अज्ञात नेपालीहरूलाई जोड्ने प्रयत्न गरौँ । कसले कति कमायौँ त्यसको हिसाबले हाम्रो बन्धु प्रेमको सोचलाई प्रभाब पार्नु हुदैन । राष्ट्र र पहिचान दबाएर बसेका हाम्रा आफन्त जोड्न के गर्दै छौँ त्यसले इतिहासमा गहन महत्व राख्ने छ । गुलाब जहाँ फुले पनि गुलाब भएरै फुल्दछ । जानी–नजानी फिजी लगायत संसारभर छरिएर रहेका हाम्रा दाजुभाइ चौथो पुस्तामा समेत नेपाली भएर फुल्ने साहस गर्दैछन् । प्रेमले परिबार, भात्रित्वले नेपाली र मानाबताले विश्व जोडौ।

सन्दर्भ सामाग्रीहरू :

डा. प्रकाश ढकाल– ‘राष्ट्र र राष्ट्रियता के हो ?’, प्रा. कृष्ण खनाल– (राष्ट्र/राज्य : इतिहास र यथार्थ), राम कार्की, केशव सिलवाल– (के हो आखिर राष्ट्रियता ?), डम्बर चेम्जोङ– (राष्ट्र, औपनिवेशिक राज्य र आदिवासी) लगायतका राष्ट्रियतासम्बन्धी विभिन्न पुस्तक तथा आलेखहरू ।

प्रतिक्रिया
सम्बन्धित