
सप्तरी, ९ साउन । सप्तरीको खाँडो खोलामा बगेर बेपत्ता भएका सप्तरीको रुपनी गाउँपालिका–१ का ३५ वर्षीय नसिर मियाँ आज मृत फेला परेका छन् ।
मियाँको शव राजविराजस्थित खाँडो खोलामा आज फेला परेको उनका भाइ नजिर मियाँले बताउनुभयो । पानीको बहाव कम भएपछि पौडी खेलिरहेका बालबालिकाले बगाएर ल्याएको शव देखेर गाउँमा खबर गरेका थिए । गाउँलेले प्रहरीलाई खबर गरेपछि शवलाई निकालेर परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो ।
वर्षाका कारण पानीको बहाव बढेका बेला दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले मियाँलाई बगाएर बेपत्ता बनाएको थियो । आज बिहानदेखि वर्षा रोकिएपछि पानीको बहाव घट्दै गएको छ ।
यसैगरी सप्तकोशी नदीमा बगेर बेपत्ता भएका तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया अझै फेला परेका छैनन् । भैँसी चराएर घर फर्किरहेका बेला सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित नदी पार गर्ने क्रममा मङ्गलबार मुखियाँ बेपत्ता भएका हुन् । –रासस












प्रतिक्रिया