आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

रअ प्रमूख गोयल खुमलटार छिर्नासाथ प्रभु साह निस्किएका थिए !

दैनिक नेपाल २०७६ साउन ८ गते १४:४८

काठमाडौं, ८ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का प्रमूख सामन्त गोयलसँग नीजि निवास खुमलटारमा ‘वान टु वान’ वार्ता गरेको खुलेको छ ।

स्रोतका अनुसार गोयलसँग पुगेका रअका अन्य पदाधिकारीबाहेक पनि प्रचण्डले भेट गरेको खुलेको हो । भेटमा नेपालको राजनीतिक अवस्था र भारतसँगको सम्बन्धका विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।

गोयल खुमलटार पुग्दै गर्दा नेकपाका अर्का नेता प्रभू साह प्रचण्डनिवासमा थिए । तर, साहले सामुहिक भेटमा समेत बस्ने मौका पाएनन् । गोयल छिर्नासाथ उनी खुमलटारबाट निस्किएका थिए ।

साह मंगलबार दिउँसो हुने भनिएको सचिवालय बैठकमा कुन नेतालाई कस्तो विभागका लागि दाबी गर्न सकिन्छ भन्ने परामर्शका लागि प्रचण्डनिवास पुगेका थिए । सोही मौकामा गोयल छिर्नासाथ साह निस्किए र प्रचण्डले अन्य नेता कार्यकर्तासँगको भेट रद्द गरी गोयलसँग वार्ता गरेका थिए ।

उच्च स्रोतले भन्यो,‘रअका पदाधिकारी आउनासाथ साह निस्कनु भयो, प्रचण्ड एक्लैले वार्ता गर्नुभएको थियो ।’

प्रचण्ड–गोयलको भेटलाई कतिपयले कुटनीतिक मर्मविपरित भएको भन्दै आलोचना गरेका छन् । खासगरी नेकपाका नेता भिम रावलले नै उक्त भेटको आलोचना गरेका थिए ।

कतिपयले भने गोयलको भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भएको तर प्रचण्डसँगको भेटको मात्र गलत हिसाबले व्याख्या गरिएको टिप्पणी गरेका छन् । गोयलसँग प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि भेट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित