आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

माइलाका हातमा हत्कडी, बादलको प्रहरी !

गृहमन्त्रीलाई लामा पत्नीको ‘पुष्पगुच्छा’ सम्बोधन 

दैनिक नेपाल २०७६ साउन ८ गते ९:५४

काठमाडौं, ८ साउन । जब राजनीतिमा विचार र शैली सत्तासँग संघर्ष गर्छ, अनि पक्राउ पर्छन् माइला लामाहरू । संवैधानिक राजतन्त्रको अवस्थामा तत्कालिन राजासँग मिलेर सत्ता हाँकेकाहरू राजाको प्रत्यक्ष शासनकालमा बन्दी भए । तर, त्यसविरुद्ध संयुक्त संघर्ष गरेका र एउटै विचार बोकेर पछि छुट्टिएकाहरूमा भने त्यस्तो दुराशायको समय आएको थिएन ।

तर गणतन्त्रपछि पहिलो पटक बनेको भनिएको स्थायी सरकार, त्यसमा सहभागी पात्रबीच यस्तो मतभेद देखिएको छ । तत्कालिन नेकपा माओवादीमा साथै काम गरेका, त्यसपछि विचारको समानताका आधारमा विद्रोहमा पनि सँगै काम गरेका गृहमन्त्री रामबहादुर थापा बादल र नेत्र विक्रम चन्द विप्लव अहिले एकअर्काका विपरित छन् ।

अझ, एक कदम अघि सर्दै मन्त्री थापाले विप्लव समूहलाई सरकारी प्रतिबन्धको प्रस्ताव गर्नासाथ पास भयो र त्यसपछि विप्लवविरुद्धका धरपकड सुरु भए । प्रहरीले विभिन्न ठाउँमा विप्लवका कार्यकर्ताको इन्काउन्टर गरेको छ । कतिपय भने हिरासतको कुटाइका कारण मारिएको भन्ने विप्लव समूहको दाबी पनि छ ।

यसै क्रममा प्रहरीले ठूलो सफलताका रूपमा सोमबार घोषणा गर्यो, विप्लव समूहका उपत्यका इञ्चार्ज तथा सांस्कृतिक विभाग नै हेर्ने माइला लामा पक्राउ भए ।

प्रहरीले पाएको सरकारी आदेशअनुसार यो सफलता थियो तर परिस्थितिका आधारमा यो अमिलो सन्देश बन्न थालेको छ, सामाजिक सञ्जालमा ।

पूर्वमाओवादी कार्यकर्ताहरू भन्छन्,‘हिजो जनयुद्धमा आम छापामारलाई जुरुक्क उचाल्ने र क्रान्तिको सही अर्थ गीतबाट दिन सक्ने माइला लामा पक्राउ गरिनु दुखद हो । राज्यमा अलिकति पनि मानवता भएन ।’

लामा पक्राउलाई सरकारका गृहमन्त्री थापासँगको नीजि तथा भावनात्मक सम्बन्धभित्रको प्रतिघातका रूपमा पनि कतिपयले अथ्र्याएका छन् । यसको कारण हो, थापा र लामाको पहिलेको अति निकटता ।

तत्कालिन नेकपा माओवादीको युद्धको क्रममा नै रहेका बादललाई सांस्कृतिक विचलन गरेको भनी कारबाहीका लागि सिफारिस पनि भएको थियो । हाल सार्वजनिक हुन थालेका चुङवाङ बैठकका कठोर, भावुक र संवेदनात्मक अडियो÷भिडियो विभिन्न माध्यमबाट सार्वजनिक भइरहेका छन् । त्यसबेला लामा बादलकै पक्षमा वकालत गरिरहेका थिए । त्यतिबेला मात्र होइन, संसदीय राजनीतिक प्रणाली ठिक नभएको भनी मोहन वैद्य किरण माओवादीबाट विभाजित हुँदा बादलको टिममा नै लामाले काम गरेका थिए ।

तर राजनीति ३ सय ६० डिग्रिको कोणमा घुम्दा बादल संसदीय राजनीतिमा प्रवेश गरे, माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य भए, त्यसैको उपजमा गृहमन्त्री पनि भए । उनैको प्रहरीले बादलको त्यो स्कुलिङबाट प्रेरित तर पछिल्लो पटक नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध लामालाई पक्राउ गरी हत्कडी लगाएर म्याद थपका लागि उपस्थित गराएको तस्बिर एकाएक भाइरल भयो । र, पूर्वमाओवादीहरूले सांस्कृतिक विभागमा योगदान गरेका लामाप्रति सहानुभूति राख्दै लेखे– यो कस्तो खेल हो, राजनीतिको ?

यतिमात्र होइन, माइलाको पक्राउपछि भावुक भएकी उनकी पत्नी मनु तामाङले सामाजिक सञ्जालमा बादललाई व्यंग्यात्मक सन्देश लेखिन्,‘बादल दाई हजुरको भन्दा पछि मेरो लास परेछ भने म पक्कै पुष्पगुच्छा लिएर आउनेछु । हजुरको कार्यकाल सफल होस् ।’ यो सन्देश लेख्दै गर्दा बादल मन्त्री नियुक्त हुँदा शुभकामना दिन गएको तस्बिर मनुले राखेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित