आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

अस्ट्रेलियन एजुकेशन फेयर गर्दै आईडिपी

दैनिक नेपाल २०७६ साउन ८ गते ७:१२

काठमाडौं, ८ साउन । नेपालमा आईईएलटीएस परीक्षा सञ्चालन गर्दै आइरहेको अष्ट्रेलियन संस्था आईडीपी एजुकेशनले एजेकेशन फेयर गर्न लागेको छ ।

आईडीपी एजुकेशनले आगामी शुक्रबार अर्थात १० जुलाईका दिन काठमाडौंको रेडिसन होटेलमा अस्ट्रेलियन युनिभर्सिटीका प्रतिनिधिहरूलाई बोलाएर एजुकेशन फेयर गर्न लागेको हो ।

शिक्षा मन्त्रालयले आईडीपीलाई नेपालमा लगानी गर्न नदिनु भन्ने राय उद्योग मन्त्रालयलाई पठाइसकेको छ । सर्वोच्च अदालतबाट स्टे अर्डर लिएकै भरमा आईडीपीले परामर्शको काम गरी विद्यार्थीलाई अष्ट्रेलिया पठाउने काम गर्दै आइरहेको छ ।

अहिले आईडिपीले त्यही स्टे अर्डर देखाएर एजुकेशन फेयर संचालन गर्न लागेको भन्दै शैक्षिक परामर्श व्यबसायीहरूले बिरोध जनाएका हुन् ।

शिक्षा मन्त्रालयको निर्देशिका अनुसार शिक्षामा प्रत्यक्ष विदेशी लगानी भित्र्याएर नेपालमा विदेशी संस्थाले काम गर्न पाउँदैनन् । आईडीपी अष्ट्रेलियाले ५१ प्रतिशत सेयर आफ्नो नाममा रहने गरी हात्तिसारमा कार्यालय स्थापना गरेर काम गर्न थालेको छ ।

आईडीपीको नेपाली लगानीकर्ता झापाका भुपेन्द्र सिटौला(निरज) हुन् । उनलाई पर्दा पछाडिबाट सहयोग गर्ने बानेश्वरस्थिति अल्फा हाउसका मालिका द्विराज शर्मा छन् ।

नेपालमा नै झण्डै १५ सय कन्सलटेन्सी रहेको अवस्थामा विदेशी लगानी भित्र्याएर पुनः कन्सलटेन्सी नै स्थापना गर्दा एकातिर नेपाली व्यवसायीहरू रोजीरोटी नै खोसिन लागेको छ । अर्कोतिर नाफाजति सबै विदेश पुग्ने देखिन्छ ।

नेपाली विद्यार्थीलाई विदेश पठाउँदा विदेशी शैक्षिक संस्थाहरूले कमिसन पनि दिने गर्दछन् । आईडीपीको अष्ट्रेलियमा रहेका ३० भन्दा बढि शैक्षिक संस्थाहरूसँग लगानी छ ।

नेपालमा ५१ प्रतिशत लगानी गरी कमिसन लिने र नेपाली विद्यार्थी पुनः आफ्नै संस्थामा पठाएर आईडीपीले सिन्डिकेट लाद्न खोजिरहेको हुँदा नेपाली व्यवसायीहरूले विरोध जनाएका हुन् ।

सानो पूँजीबाट शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहँदा रहँदैशर्मा र सिटौलाले एफडीआईको नाममा विदेशी कम्पनीलाई नेपाल भित्र्याएर नेपाली लगानी डुबाउने चलखेल गरिरहेका छन् ।

५० लाख लगानी गरेकै भरमा विदेशी शैक्षिक संस्थालाई नेपालमा परामर्शदाताका रुपमा भित्र्याई नेपाली लगानीकर्ताहरूकै विल्लीवाठ बनाउन लागेका कारण इक्यान, आईरिन र फेकनले बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित