काठमाडौं, ७ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागलाई लिएर भएको विवाद समाधान हुने कुनै संकेत देखिएको छैन ।
विभागको नेतृत्व पूर्वएमाले र माओवादीका नेताहरूले दाबी गरेपछि विवाद सतहमा आएको थियो । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विभागको नेतृत्वमा दाबी गर्दै आएका छन् । पोखरेल ओली निकटका हुन् भने श्रेष्ठ नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।
स्कुल विभागको विवाद मिलाउने प्रयास स्वरुप सोमबार साँझ प्रधानमन्त्री ओलीले दाहालसँग परामर्श गरेका छन् । परामर्शमा के–के कुरा भएको थियो भन्नेबारे केही भनिएको छैन ।
तर, ओली र दाहालले केन्द्रीय सचिवालयको बैठकलाई साउन ९ गतेसम्मका लागि सार्ने सहमति गरेका छन् ।
हुन त पूर्वमाओवादी नेताहरूको केही दिन अगाडि खुमलटारमा बसेको बैठकले स्कुल विभाग नछाड्ने सहमति कायम गरेको थियो । त्यति मात्रै होइन खुमलटारमा ईश्वर पोखरेललाई स्कुल विभाग दिँदा मदन भण्डारीको बहुदलीय जनवाद (जबज)लाई स्थापित गर्ने भन्दै चिन्ता जनाइएको थियो ।
खुमलटारको बैठकले व्यक्ति विशेषलाई नै निशाना बनाएर छलफल चलाएपछि स्कुल विभागले टुंगो पाउन सकेको छैन ।
पोखरेलसँग पूर्वमाओवादी नेताहरू किन यति धेरै डराएका छन् भन्ने धेरैले सोँच्न बाध्य भएका छन् ।