आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

जापान रोजगारका लागि भाषा परीक्षाको मिति सार्वजनिक

दैनिक नेपाल २०७६ साउन ६ गते १३:२०

काठमाडाैँ, ६ साउन । जापान रोजगारका लागि आउँदाे अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ ।

पहिलो चरणमा केयर गिभरका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । किनकी, जापानले पहिलो चरणमा केयर गिभर लैजाने छ ।

भाषा परीक्षापछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको छ ।

नेपालले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता गरेको थियो । सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको हो ।

सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भनिएको थियो । सम्झौता नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेका थिए ।

गत डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदारलाई जापान भित्र्याउँने नीति पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको हो ।

जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लिन चाहेको छ ।

प्रतिक्रिया
सम्बन्धित