नेपाली समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक, गल्ली ,चिया पसल, रेस्टुराँ, भट्टी पसल , पनेरो,सरकारी अफीस, मेलापात,अस्पताल, विद्यालयलगायत जहीं तहीं अरुको कुरा काटेको सुन्न पाईन्छ । सबभन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ, कुरा काटिन्छ । सरकारले गरेको कमजोरीको संसदमा वा जनताको तहमा आलोचना त संसार भरिकै प्रचलन हो, आवश्यकता पनि हो तर यहाँ अचाक्ली नै हुने गरेको छ । यहाँ त तथ्यपरक आलोचना गर्नुभन्दा आधारहीन विरोध बढी गर्ने आम प्रवृत्ति नै भईसक्यो । आत्माआलोचना गर्नु निक्कै कठिन छ, गर्नु परे दाँतबाट पसिना आउँछ । आज सबै नेता कार्यकर्ता र जनताले आफूले परम्परागत रुपमा गर्दै आएको कमजोरीको आत्म अनुभूति गरेपछि मात्र सही ठाउँमा पुग्न सकिन्छ । नेपाली जनता,जसले देशको ईतिहासको निर्माण गरेका छन्,नेता र नेतृत्वको निर्माण गरेका छन्,पनि गम्भीर परम्परागत गल्ती दोहोर्याउदै आएका छन् । अरुलाई चोर औंला ठड्याउदा आफूतिर तीन औंला फर्किएका हुन्छन् भनिन्छ । जनतातिर ठडिएका औलाको चर्चा किन नगर्ने ?
१) हामी आश्वासनको आधारमा नेता र पार्टीलाई भोट हाल्छौं, आश्वासनलाई यथार्थतामा खोज्दैनौं । अर्को चुनाबमा नयाँ नयाँ गुलिया आश्वासन पछि पछि दगुर्छौं । देशको नीतिगत र संरचनागत परिवर्तन गर्न योगदान गर्ने,सही राजनीतिक सिद्धान्तको पक्ष पोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डन , गुण्डा अगाडि पछाडि लगाएर हिड्नेलाई नेता मान्छौं । वाह वाह गर्छौं ।
२) चुनाबमा बढी पैसा गर्न सक्ने उम्मेद्वारलाई राम्रो उम्मेद्वार ठान्छौं । पैसा खर्च गर्न नसक्नेले राजनीतिमा नआए हुन्छ भनेर निम्न बर्गबाट राजनीतिमा आएका वा आउन चाहनेलाई पटक—पटक निरास पार्छौं । सर्वहाराको राजनीतिमा सर्वहाराचाहिं पस्नै नपाउने पसेका पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिहन्छौं !
३) एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्ने वित्तिकै करोडौं सम्पत्तिको मालिक भएको देख्दा उसको सम्पत्तिको श्रोत के हो भनेर खोजि नीति गर्दैनौं बरु “मौकामा चौका हानेछ” भनेर उसैको तारिफ गर्छौं । आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गछौं ।
४) कम्तीमा पाँच बर्ष चल्ने स्थीर सरकार बनाउन भोट माग्छौं, भोट हाल्छौं । तर सरकार बनेको केही महिना पनि नपुग्दै सरकारको उछित्तो काड्न थाल्छौं । ताल परे विभिन्न बहानामा सरकारको विरोधमा सडकमा निस्कन्छौं । केही महिना अघि महान मानिएको अमुक नेतालाई उसको कुनै ब्लण्डरविना तारो हान्ने साधन बनाउछौं ।
५) हामी बाग्मती नदी सफाई अभियान, हनुमन्ते सफाई अभियान, नगर सफाई अभियानलगायतका अभियानमा सरिक हुन्छौं, नेताहरुसंग सेल्फी खिच्छौं तर आफ्नो घरबाट निस्कने फोहोर सुटुक्क तिनै खोला वा राजमार्ग वा सार्वजनिक स्थानमा यत्रतत्र फालिदिन्छौं ।
६) हामी उही किसिमको निर्माण सामग्री प्रयोग गरेर आफ्नो घर पचास बर्ष टिक्ने बनाउछौं । तर आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सार्वजनिक बाटो चाँहि पचास दिन पनि नटिक्ने बनाउछौं । बाटो हिलो भएपछि सरकारको नै उछित्तो काढ्छौं ।
७) हामी “सरकारले राम्रो नियम कानून बनाउन सकेन”भनेर खुब आलोचना गर्छौं तर हामी बनेका नियम कानूनको पालना गर्नु परे आफूलाई निम्छरो भएको महसुस गर्छौं । मापदण्ड मिचेर घर बनाउछौं र नगरपालिकाको कुनै पदाधिकारीले घुस खाएर नक्सा पास गराउन सके गौरवान्वित हुने र मापदण्ड विपरीत नक्सा पास नगर्ने पदाधिकारीलाई “चोर डाका”भन्दै सराप्छौं ।
८) हामी आफ्ना बालबच्चालाई महगाँ निजी स्कुलमा पढाउछौं र सरकारी स्कुलको व्यवस्थापन समितिमा पदाधिकारी वा सदस्यमा बस्न मरिहत्ते गर्छौं ।
९) हामी आफूलाई सर्वश्रेष्ठ ठान्दछौं । सरकार, संसदभन्दा ठूलो ठान्दछौं । “मेरो कुरा लागू भएन भने मरिदिन्छु” भनेर अड्डी कस्छौं, अनसन बस्छौं ।
१०) हामी कुनै सार्वजनिक वा सामाजिक काम गर्नु परेमा “यसबाट मलाई के कति फाईदा हुन्छ”बाट सोच्न थाल्छौं । सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएरमात्र काम शुरु गर्छौं ।
११) हामी ट्राफिक जाम भएको मन पराउदैनौं । आफू जाममा परे खुइ..य ,खुइ..य गर्छौं तर ट्राफिक नियम र सडक नियम उलङ्घन गरेर आफैं ट्राफिक जाम गराईरहेका हुन्छौं , आदि ।
कमजोरी नगर्ने असल नागरिक उल्लिखित “हामी”भित्र पर्दैनन् । यहाँ त केही आम मनोवृत्तिको मात्र चर्चा गरिएको हो । जनताको तहमा देखिने यस्ता कमजोरी नहटेसम्म समाजको अग्रगामी रुपान्तरण केवल प्राज्ञिक बहसमात्र हुनेछ । आर्थीक समृद्धिको नाराको विचल्नी हुनेछ । जनताको मनोवृत्तिमा परिवर्तन नआए जुनसुकै सिद्धान्त बोकेको, जतिसुकै स्थीर र प्रतिबद्ध सरकार आए पनि देशको मुहार तत्काल फेरिने कल्पना गर्न सकिदैन । किनभने नेता जनताले बनाउने हो, गड्यौला बर्सेजस्तो नेता आकासबाट बर्सने होइन ।
















प्रतिक्रिया