
-वि.वि. श्रेष्ठ
मौनताको परिधीले समयको बन्दी बनाएता पनि त्यसको परिणाम नकारात्मक हुने रहेछ । सोँच र चेतनाको मस्तिष्कमा समदुरीको भावना विकसित नहुने हो भने त्यसले हरेकतामा नैराश्यता लयाउने गर्दछ । त्यसैको शिकार आम मानव जाती मात्र नभै विश्वमा सजिव प्राणीको असमान दिशावोध पैदा गर्दछ । जुन यत्रतत्र सर्वत्र पाइन्छ । समाज त्यसैमा सृष्टिको निरन्तरता हो । समाजको परिभाषा व्यक्तिको चेतना र हेर्ने दृष्टिकोणमा भर पर्दछ । यद्यपी, जीवनको अर्थ नखोज्नेको भीडमा रुमल्लिएको यो समाज त्यसैमा वहकिएर नै यो चक्र चल्दैछ र चलिरहनेछ अविरल रुपमा ।
बाँच्नका लागि खाने भन्दा पनि खानका लागि बाँच्नेहरुको भीडमा विचार र चेतना बाध्यतावश घिस्रिन बाध्य बन्दोरहेछ । त्यहि बाध्यतालाई नै जीवनको परिभाषामा रम्ने हाम्रो दिनचर्या बनिदियो ।
शून्यताको परिधीलाई सोँचको त्यो आवश्यकताले मानव जीवनको अर्थ खोज्दछ, त्यसैमा लर्बराएर जीवन व्यतित गर्नेहरुको जीवनलाई नजिकबाट नियाल्ने प्रयास गर्ने हो भने झन् मानसिक रुपमा नै कमजोर बनाउने र अन्तत: जीवनवाट नै मुक्ति खोज्नेहरुको यो समाजमा कमि छैन । निरन्तरताको यो उपजतामा नयाँपनको खोजी र त्यसको कार्यान्वयनको पाटो सहज हुन सक्दैन । समयको गति सबैमा समान भएता पनि त्यसको उपयोगिता भने व्यक्तिको सोँच अनुसार फरक फरक हुन सक्दछ । त्यहि क्रमिक आवश्यकताको खोजीमा नयाँपनको नयाँ सोचको नयाँ जीवन भन्दा पुरानो र निरन्तरतामा बाँच्नु नै हामीहरुको दैनिकी बनेको छ । विश्वको पेरिफेरीमा पनि यो चक्र यो भन्दा किन्चित फरक छैन ।
क्षितिजको त्यो मौनतामा सोँचको परिकल्पनाले केहि समय बाँच्नका लागि जागरुक बनाएता पनि त्यसको निरन्तरता छोटो हुनेरहेछ । किनकि सोँच र कार्यान्वयन अलग अलग पाटो हुन् । जुन सोँच हुन्छ, त्यो सबैको कार्यान्वयन गर्न कदापी सकिदैन । सपनामा झस्काएको त्यो विषयले केहि समय मस्तिष्कको पाटोमा जरो गाडेता पनि उज्यालोको प्रकाश र वातावरणीय प्रभावले फिक्का बनाउदो रहेछ । बाँच्नका लागि खाने भन्दा पनि खानका लागि बाँच्नेहरुको भीडमा विचार र चेतना बाध्यतावश घिस्रिन बाध्य बन्दोरहेछ । त्यहि बाध्यतालाई नै जीवनको परिभाषामा रम्ने हाम्रो दिनचर्या बनिदियो ।
मातृत्वात्सल्यतामा रहेको अवोध सांसारिक धरातलमा टेक्दै गर्दा नयाँपनको आभास गर्दछ । नयनको त्यो चमकलाई वातावरण र समाजिक प्राणीको त्यो भीडले विस्तारै मधुरो बनाइदिन्छ । आवश्यकताको चरमता रम्नका लागि नै बाँच्ने आधार देख्ने सोँच त्यो अवोधतामा पनि शुरु हुन्छ । सुखसयल र ऐसआराम र स्वार्थताको त्यो जंजालले पनि कदापी त्यो अवोध शिशुलाई पनि छाड्ने छैन । आवश्यकताको जब केही अंश पूर्ण हुन्छ, तब जीवनको परिभाषा नै फरक हुने गर्दछ । नपुग्दासम्म गरिने परिभाषा र अधिकतामा गरिने जीवनको परिभाषामा अन्तर हुने मानवीय स्वभावको एक विशिष्ट सुचाकांक हो । जुन साझा विषय बनेको छ ।
वातावरण र स्थान फरकफरक, भाषा शैली र रहनसहन फरक फरक भएता पनि संसारिक उपलव्धीको महत्वपूर्ण मानव जातिको जीवन भोगाई र यापनको सोँच समान हुने रहेछ, त्यसैले मानव जातिको जीवनमा समानता पाउन सकिने रहेछ ।
जीत र हार विचार चेतना र विवेकतामा नभै आर्थिक उपार्जन र शक्ति केन्द्रित स्वार्थमा गएर जब केन्द्रित हुन्छ, त्यसले वैमनष्यता शिवाय अन्य केही दिदैन । आम मानव अत्याधिक मात्रामा किन दुखित हुन्छ ? किन शक्ति र सम्पतिमा नै जीवनको यथार्थ जीत देख्दछ ? विहानको त्यो सुशुप्त मानसिकतामा विकास भएको जो कोहीको सोच पनि दिनको पारिलो किरणसँगै फिका हुने गर्दछ । स्वार्थतामा अल्झेको मानवीय सोँच, सामूहिकतामा नदेखिँदा मस्तिष्कमा पैदा हुने नकारात्मक हर्मोनले झन कमजोर बनाउँदछ ।
वाल्यकालमा उब्जिएको त्यो मिठो सोँच, उमेरको वृद्धिसँगै कठोर बनेर बगिदिन्छ । जुन मानव जातीका लागि हानिकारक सावित बनिदिन्छ । प्रवृतिमा आएको त्यो संकिर्णता जब कमजोर बन्दछ झन् सोँच स्वखलित बनिदिने रहेछ । जसरी नयाँ पालुवा पनि समय र वातावरण सँगै झुक्दै जान्छ, मानवीय परिचक्र पनि यही हो भन्ने सोँच हामीमा विकास हुने सकेन । वातावरण र स्थान फरकफरक, भाषा शैली र रहनसहन फरक फरक भएता पनि संसारिक उपलव्धीको महत्वपूर्ण मानव जातिको जीवन भोगाई र यापनको सोँच समान हुने रहेछ, त्यसैले मानव जातिको जीवनमा समानता पाउन सकिने रहेछ । पारिवारिक मोह र सम्पतिको याचनाले जीवनको परिभाषा भिन्न देखाउन खोजेता पनि स्वार्थताको जग कदापी परिवर्तन नहुने रहेछ ।
विभिन्न कालखण्ड र युगलाई व्यतित गर्दै एक्काइसौँ शताब्दीको यो प्रविधीको युगमा पनि मानवीय स्वाभाव फरक हुन सकेन । प्रविधि र वस्तुको आकारप्रकार फरक र नविन हुन सक्यो तर, त्यो सबै अन्त्यमा जीवनको एउटा अंंगमात्र बनिदियो । खोजमा जीवनको आनन्द नै अथाह हुने गर्दछ, तर, त्यो खोज त्यति सहज हुँदैन, जिम्मेवारी वहन गर्नु र भन्नु फरक फरक किनारा हुन् । जुन कदापी मिलन हुन सक्दैन । यो नियम धुव्रसत्य हो । जुन हामीमा घुमिरहेको छ ।
केका लागि हामी कुदिरहेका छौँ ? के उपार्जनका लागि यति धेरै स्वार्थमा बेरिइरहेका छौँ ? जीवन के हो ? यसको उपादेयता केका लागि भन्ने चेतनाको विकास आम मानव जातिमा कहिले होला ?
सोँच किन समान हुन सक्दैन ? रातको त्यो सन्नाटामा सोँचको विकास दिनको उज्यालोमा पृथक रहन सक्दैन ? नयाँ सोँचको विकासमा हामी किन अडिग रहन सक्दैनौँ ? अरुले बनाएको बाटोमा नै हल्लिखल्लि गर्ने हामीहरु जीवनको नयाँ रेखा कोर्न किन सक्दैनौ ? यावत प्रश्नको पहाडले थिचेको यो मानसिकता रातको चकमन्नतामा उर्फन खोजेता पनि विहानीको मधुरतासँगै किन विलिन हुने बाटोमा अग्रसर हुन्छ ? आफैलाई चिन्ने र खोज्ने अथक प्रयास किन धर्मराएर जान्छ ? आफ्नो कर्ममा भन्दा अर्काको चियोचर्चामा बित्ने दिनको लेखाजेखा समान्य भन्दा फरक किन हुन सक्दैन ? समाजिक रितिरिवाज र निरन्तरतामा नचाहेर पनि बाँधिने जंजाल किन फुत्काउन सकिदैन ? प्रश्नको यो चाङ्गले सोँचको मानसिकतालाई थिचेर कहिल्यै जित्न किन दिदैन ? जब यो सबैको उत्तर सहज पाउन सकिदैन, त्यसपछि गर्ने भनेको जीवनबाट मुक्ति शिवाय केही नहुने रहेछ । त्यसको श्रृंखलाहरु हरेक समाज र विश्वको परिवेशमा देख्न सकिन्छ ।
खोज र अनुसन्धान आफैमा जटिल अवस्था हो । चेतना र खुबीको समिश्रणबिना यो सम्भव छैन । तरपनि, यो क्रमिक रुपमा अगाडी बढेता पनि यसको सकारात्मक नतिजा हात नलाग्दा विरक्तिएर जीवन अर्पण गर्नेहरुको जीवन कथाले सोँच्न बाध्य बनायो । केका लागि हामी कुदिरहेका छौँ ? के उपार्जनका लागि यति धेरै स्वार्थमा बेरिइरहेका छौँ ? जीवन के हो ? यसको उपादेयता केका लागि भन्ने चेतनाको विकास आम मानव जातिमा कहिले होला ? हराएको यो आत्मालाई खोज्ने हिम्मत हामीमा किन आउँदैन ? भौतिक वस्तुको प्राप्तिलाई जीवनको उच्चतम स्वरुप देख्नेहरु आफै हराउँदा खोज्ने हिम्मत किन गर्दैनन् ? भौतिक र निर्मित साधनको उपलब्धतामा रम्नेहरु आफैलाई खोज्ने दुस्साहस कहिले गर्ने होलान् ?















प्रतिक्रिया