बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

निर्मला प्रकरण : पत्रकार भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना !

दैनिक नेपाल २०७६ असार ३१ गते १३:११

काठमाडाैँ, ३१ असार । कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको छ।

सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो । मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र आचार्यको इजलासले उनलाई कैद र जरिवाना तोकेको हो । तर, अहिलेलाई भने उक्त सजाय स्थगित गरी अदालतले उनलाई माफिनामाको मौका दिएको छ।

एक घण्टा कैद र एक रुपैयाँ जरिवाना तोकेको भएपनि भण्डारीले फेसबुकमा अदालतविरूद्ध लेखेका सामग्री हटाएर माफी मागेमा कैद र जरिवाना भुक्तान गर्नु नपर्ने सर्त रहेको छ । पत्रकार भण्डारीलाई माफी माग्नका लागि अदालतले तीन दिनको समय दिएको छ।

झण्डै एक वर्ष अघि कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा जिल्लाका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ८ जनाविरूद्ध प्रहरीले नै अदालतमा मुद्दा दायर गरेको थियो।

यही मुद्दाको सुनुवाइ प्रकृयालाई लिएर भण्डारीले आफ्नो पत्रिका मानसखण्ड दैनिकमा समाचार र फेसबुक स्टाटस लेखेका थिए । भण्डारीले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने भन्दै बारले उनीविरूद्ध अदालतको अवहेलना मुद्दा लगाएको थियो ।

यता, पत्रकार भण्डारीले भने आफूले माफी पनि नमाग्ने र फेसबुकको स्टाटस डिलिट पनि नगर्ने बताएका छन् । उनले अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै आफूलाई अन्याय भएको समेत बताएका छन् । अदालतको फैसलापछि फेसबुकमा स्टाटस् लेख्दै पत्रकार भण्डारीले आफू पुनरावेदन जाने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित