बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

वार्ताका लागि विप्लव समूहका अनौठा पूर्वसर्त

दैनिक नेपाल २०७६ असार ३० गते ९:५४

काठमाडौं, ३० असार । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ताको भित्रभित्रै गृहकार्य शुरू गरेको छ ।

नेकपाका सुप्रिमो अर्थात महासचिव विप्लवसँग सम्पर्क गरी सरकारले वार्ता गर्न चाहेको हो । सरकारले विप्लव समूहसँग ठोस वार्ता गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याउन दवाव बनाइ राखेको छ ।

स्रोतका अनुसार सरकारले विप्लव समूहलाई वार्तामा ल्याउनकै लागि प्रतिवन्ध लगाएर दवाव दिएको हो । यस अवधिमा विप्लवका एक दर्जन कार्यकर्ता विभिन्न घटनामा परेर मारिएका छन् । नेपाल प्रहरीका एक जना जवानको पनि भोजपुरमा ज्यान गएको छ ।

सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी विप्लवसँग वार्ताको आन्तरिक तयारी गरेको सत्तारुढ नेकपाका एक जना नेताले बताए ।

प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरूलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन् ।

ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई जिम्मेवारी दिएका छन् ।

दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई जिम्मा दिएका छन् ।

विप्लव समूहले तीनवटै टोलीसँग सम्पर्क हुँदा पार्टीको प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ताको निसर्त रिहाइ, हत्या, दमन, धरपकड रोकेर सरकारले राजनीतिक इमानदारी देखाउनुपर्ने पूर्वसर्त राखेको छ ।

यो सर्त पूरा गर्दा विप्लव वार्ताबाट भाग्ने हो कि भन्ने आशंकाहरू जन्मिएका छन् । नेता तथा कार्यकर्ताहरूलाई छुटाउन मात्रै विप्लव समूहले वार्ता भनेको हो कि भनेर आशंका जन्मिएको छ ।

ललितपुरको नख्खुमा भएको बम बिष्फोटको घटनापछि सरकारले विप्लव समूहलाईह फागुन २७ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित