आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

सरकारको निर्णय : बाढीपहिरो र डुबानपीडितलाई तत्काल राहत, पुल भत्केका ठाउँमा बेलिब्रिज

दैनिक नेपाल २०७६ असार २९ गते १७:३४

काठमाडाैँ, २९ असार । सरकारले बाढीपहिरो र डुबानपीडित नागरिकलाई तत्काल राहत दिने भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको हो ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको र सात हजार घरमा क्षति पुगेको सरकारले जनाएको छ ।

सरकार प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गाेकुल मन्त्री बाँस्कोटाले बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने जानकारी दिए । पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ।

साथै, सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ । यस्तै, सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ ।

वर्षाका कारण सबैभन्दा बढी प्रदेश १, २ र ३ प्रभावित बनेका छन् । तराईका थुप्रै जिल्लामा डुबान र बाढीका कारण हजारौँ मानिस घरबारबिहीन बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित