बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

वृद्ध वृद्धाको रकम फिर्तागर्न माछापुच्छ्रे बैँकलाई राष्ट्र बैँकको निर्देशन

दैनिक नेपाल २०७६ असार २७ गते १७:००


भैरहवा,२७ असार । नेपाल सरकारले प्रदान गर्दै आएको वृद्ध भत्ता रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखा रहित बैँकिङ्ग सेवाले हिनामिना गरेको समाचार बाहिरिएपछि नेपाल राष्ट्र बैँकले वृद्ध वृद्धाको रकम फिर्ता गर्न माछापुच्छ्रे बैँकलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैँक भैरहवाका निर्देशक राजेन्द्र भट्टराईले सम्मरीमाई गाउँपालिकामा रहेको माछापुच्छ्रे बैँकको शाखा रहित बैँकिङ्ग सेवाले वृद्धवृद्धाको रकम हिनामिना गरेकोले उक्त रकम फिर्ता गर्न माछापुच्छ्रे बैँकलाई निर्देशन दिएको बताए ।

यसबारेमा माछापुच्छ्रे बैँक भैरहवा शाखाका प्रबन्धक अनुज सिग्देलले यस बारेमा आफु केही बोलन नमिल्ने बताए । उनले बैँकको सम्पूर्ण सूचनाहरु प्रवक्ताले दिने बताउँदै सम्मरीमाईमा रहेको शाखा रहित बैँकिङ्ग सेवाको सबै सूचनाहरु प्रवक्ताले नै दिने भन्दै केही बोलन चाहेनन् ।

उता माछापुच्छ्रे बैँकका प्रवक्ता समेत रहेका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हामीले त्यस विषयमा अनुसन्धान गर्नकालागि समिति बनाएर स्थलगत निरीक्षण समेत गरिसकेका छौँ । समतिको प्रतिबेदनको आधारमा शाखा रहित बैँकिङ्ग सेवाले वृद्धवृद्धाको रकम हिनामिना गरेको भए बैँकिङ्ग नियमानुसारको कारवाही गरिने र उक्त एजेण्टलाई सेवामुक्त गरिने बताए ।

राष्ट्र बैँकको निर्देशन पछि बैकले उक्त रकम फिर्ता त गर्ला तर गलत काम गर्ने शाखा रहित बैँकिङ सेवाका कर्मचारी (एजेन्ट) लाई कारवाही गर्छ कि गर्दैन त्यो प्रतिक्षाको विषय बनेको छ ।

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकामा शाखा रहित बैँकिङ सेवा राखेको माछापुच्छ्रे बैंकले राष्ट्र बैंकको आँखा छलेर जेष्ठ नागरिकलाई नेपाल सरकारले चौमासिक रुपमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको रकम मध्येबाट एक चौमासिकमा प्रत्येक व्यक्तिबाट रु ५ सय उक्त एजेन्टले आफैले राखेको वृद्धवृद्धा र उनीहरुका परिवारका सदस्यहरुले बताएका थिए । सम्मरीमाई गाउँपालिकाबाट २ हजार २ सय बढीले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित