बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको जहाज चिप्लियो, उडान ठप्प

दैनिक नेपाल २०७६ असार २७ गते १२:१७

काठमाडौँ, २७ असार । यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जाेगिएको छ ।

नेपालगञ्जबाट आएको विमान अवतरणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चिप्लिएर सामान्य दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना यात्रु घाइते भएका छन् । अन्य यात्रुलाई सकुशल उद्धार गरिएको छ।

बिहान ११ बजेर ६ मिनेट जाँदा धावनमार्गमा चिप्पिएको विमानस्थल स्रोतले जनाएको छ । नेपालगञ्जबाट आएको फ्लाइट नं. एनवाइटी-४२२ एटीआर ७२–५०० जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु थिए । २ जना शिशु समेत सवार यतिले जनाएको छ ।

चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अनतर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएका छन् ।

काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्सको ९ एन एएलवाई जहाज दिल्ली डाइभर्ट गरिएको छ । दिल्लीबाट आएको रोयल भुटान एयरलाइन्सको जहाज थिम्पुस्थित पारो डाइभर्ट भएको छ । बैंककबाट आएको थाइ एयरवेजको जहाज पनि डाइभर्ट गरिएको छ ।

यो बाहेक करिब दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् ।  विमानलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेकाले अझै केही समय लाग्ने विमास्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित