बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

अख्तियारले रङ्गेहात पक्राउ गरेको बर्षकै ‘ठूला माछा’

अनियमितता अभियोगमा सरकारले हटाउँदा सर्वोच्चको अन्तरिम आदेश बोकेर वीपी फर्किएका थिए रौनियार

दैनिक नेपाल २०७६ असार २७ गते ११:५०

काठमाडौं, २७ असार । धरानस्थित विश्वेश्वर प्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेका बर्षकै ‘ठूला माछा’ हुन् ।

आठ लाख घुससहित निवासबाट पक्राउ गरिएका रौनियारलाई यसअघि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ परेको अनियमितताको उजुरीकै आधारमा बर्खास्त गरिएको थियो । तर सर्वोच्च अदालतमा सेटिङका आधारमा अन्तरिम आदेश लिएर उनले पदबहाली गरेका थिए ।

यद्यपि, उनलाई काम नगर्नू भनी सह–कुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परिपत्र जारी गरेका थिए । रौनियारले अटेर गरी काम गरिरहेका थिए ।

अख्तियारले पक्राउ गरी आरोपपत्र तयार पारिरहेको छ । अनुसन्धानमा रहेका रौनियारको पद स्वत निलम्बनमा पर्नेछ । उनलाई ८ लाख घुससहित पक्राउ गरिएको थियो । प्रतिष्ठानमा बनेको भवनको कमिशन रकम लिइरहेका बेला रौनियार अख्तियारको फन्दामा परेको अख्तियार प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।

सुनसरीको दुहवीका रौनियारले प्रतिष्ठानका सबै प्रशासनिक काममा घुसमात्र लिने गरेको गुनासो बढिरहेको थियो । सोही कारण सरकारले उनलाई हटाएर शिक्षाध्यक्ष गुरु खनाललाई कार्यबाहकको जिम्मेवारी दिएको थियो ।

तर सरकारको कारबाहीलाई कारण देखाउन भन्दै उनको कारवाही लागू नगर्नु भनी सर्वोच्च अदालतले फैसला दियो । त्यसपछि रौनियार प्रतिष्ठान फर्किएका थिए ।

उनीसँगै विहीबार अर्का डा. रामहरी रौनियारलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लियो । रामहरी उपकुलपति रौनियारका भतिजा हुन् ।

अख्तियारले स्ट्रिङ अप्रेशनमा पक्राउ गरेका बर्षकै ठूला माछा हुन् उपकुलपति रौनियार । उनीमाथि लागेका अन्य अभियोग र उजुरीमाथि पनि गम्भिर अनुसन्धान हुने अख्तियार स्रोतले जनाएको छ ।

रौनियारले पछिल्लो पटक भर्ना प्रक्रियामा सर्वोच्च अदालतले दिएको आदेश नै मिचेर फटाफट काम गरिरहेका थिए । एमबीबीएस भर्नामा प्रति विद्यार्थी मोटो रकम लिने गरेको रौनियारमाथि आरोप लाग्दै आएको थियो ।

रौनियारले त्यतिमात्र नभएर वीपी प्रतिष्ठानका हरेक निर्णय र कार्यक्षेत्र पनि मिचिरहेका थिए । शिक्षाध्यक्षको जिम्मा रहने परिक्षा बोर्डमा पनि उनको हस्तक्षेप रहँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित