बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

कस्टडीमा रहेका हेमन्तमार्फत विप्लवसम्म पुग्न खोज्दैछ सरकार

दैनिक नेपाल २०७६ असार २७ गते १०:५२

काठमाडौं, २७ असार । प्रहरी कस्टडीमा रहेका प्रतिबन्धित नेकपाका तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओलीमार्फत महासचिव नेत्रविक्रम चन्द विप्लवसम्म पुग्न सरकारले पहल थालेको छ ।

सो समूहका हिंसात्मक गतिविधि र विभिन्न ठाउँमा भिडन्त नै सुरु भएपछि स्थितिलाई स्थिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा गृह मन्त्रालयका अधिकारीले यस्तो पहल थालेका हुन् ।

जसको प्रक्रियागत सक्रियता गृहसचिव प्रेमकुमार राईले थालेको उच्च अधिकारीले बताए । कस्टडीमै हेमन्तसँग गृहका अधिकारीले वार्ताका लागि वातावरणका सर्तहरू के हुन सक्छन् भन्ने अध्ययन गरिरहेका छन् ।

सो समूहलाई सरकारले राजनीतिक नेतास्तरीय वार्ता समिति गठन गरी औपचारिक पत्र पठाउने तयारी पनि गरेको छ ।

विप्लव समूहले वार्ताका लागि सकारात्मक रहेको भन्दै पहिलो शर्त प्रतिबन्ध फुकुवा र त्यसपछि संसद भंग हुनुपर्छ भन्दै आएको छ । तर दुईतिहाई बहुमत पाएको नेकपाको सरकारले प्रतिबन्ध फुकुवा गर्न सके पनि संसद भंगको शर्त नमान्ने अधिकारीहरूले बताएका छन् ।

विप्लव समूहले वार्ताका लागि पक्राउ गरिएका आफ्ना सबै नेता कार्यकर्ता रिहाई, मृतक कार्यकर्तालाई सहिद घोषणा गर्नुपर्ने सर्त पनि अघि सार्दै आएको छ ।

उसले सरकार आफैं आक्रमणमा उत्रिएका कारण त्यस्ता नीति र आक्रमणकारी व्यवाहारलाई बन्द गर्नुपर्ने लिखित प्रतिबद्धता पनि माग गरेको छ ।

तर कतिपय अन्तरवार्ता र कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहसँग वार्ता हुन नसक्ने, कारबाहीमै अगाडि बढ्ने भन्ने अभिव्यक्ति दिँदै आएका थिए । सर्लाहीमा मारिएका कुमार पौडेल र भोजपुरमा भएको भिडन्तमा मारिएका नीरकुमार राई र प्रहरी जवान सन्जिव राईको मृत्युपछि भने प्रधानमन्त्री ओली वार्तामार्फत समस्या समाधानका लागि आफैं अग्रसर भएका हुन् ।

विप्लव समूहसँग वार्तामार्फत नै समस्याको समाधान निकाल्नुपर्ने र उनी सत्तारुढ नेकपामा नै आउने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार दाबी गर्दै आएका छन् ।

अर्कातिर समूह छाडेर विभिन्न ठाउँका नेता कार्यकर्ता सत्तारुढ नेकपामा जान थालेपछि महासचिव विप्लव पनि राजनीतिक रूपमा दबाबमा परेका छन् । नेता कार्यकर्ताले पार्टी छाड्ने र सरकारले कारबाही अगाडि बढाउँदा उनलाई पनि वार्तामा जानुपर्ने दबाब छ ।

प्रतिक्रिया
सम्बन्धित